कर्णालीमा ६५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण

हिमाल प्रेस ४ असार २०८३ १९:३६ | Thursday, June 18, 2026
18
SHARES
कर्णालीमा ६५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण

सुर्खेत – कर्णाली प्रदेशमा हुने सडक दुर्घटनामध्ये अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्यांकले देखाएको छ।

सडक सुरक्षा पूर्वाधारको अभाव, सीमित ट्राफिक जनशक्ति र सडक सुरक्षाप्रति कमजोर सचेतनाले दुर्घटनाको जोखिम थप बढाएको सरोकारवालाहरूले बताएका छन्।

कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले प्रस्तुत गरेको तथ्यांकअनुसार प्रदेशमा दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको छ।

कुल दुर्घटनामध्ये ६५ प्रतिशत तीव्र गतिका कारण भएका छन्। त्यसपछि ब्रेक फेल, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, चालक अनुमतिपत्रबिना सवारी चलाउने, सडकको कमजोर अवस्था र जोखिमपूर्ण ओभरटेक प्रमुख कारणका रूपमा देखिएका छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ५४९ दुर्घटनामा १३१ जनाको मृत्यु भएको थियो भने ३३८ जना गम्भीर घाइते भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा दुर्घटनाको संख्या बढेर एक हजार ८६ पुगे पनि मृत्यु संख्या ११२ मा सीमित रह्यो। त्यस अवधिमा ४७२ जना गम्भीर घाइते भएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा ९६८ दुर्घटनामा १३९ जनाको मृत्यु भएको छ भने ७०२ जना गम्भीर घाइते भएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म प्रदेशभर एक हजार ११५ सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १२३ जनाको मृत्यु भएको छ भने दुई हजार १६५ जना घाइते भएका छन्।

प्रदेशभर भएका दुर्घटनामध्ये ५८ प्रतिशत सुर्खेत जिल्लामा भएका छन्। मृत्युको हिसाबले पनि सुर्खेत नै सबैभन्दा अगाडि रहेको छ। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकलको हिस्सा ४७ प्रतिशत रहेको छ। त्यसपछि जिप–कार, अटो–टेम्पो, ट्र्याक्टर, माइक्रोबस, बस र ट्रक रहेका छन्।

समयगत विश्लेषणले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म दुर्घटना सबैभन्दा बढी हुने देखाएको छ। चालकको उमेरका आधारमा २६ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा बढी दुर्घटनामा संलग्न छन् भने १७ देखि २५ वर्ष उमेर समूह दोस्रो स्थानमा रहेको छ।

हाल कर्णाली प्रदेशमा ४१ हजार ३८२ सवारीसाधन दर्ता भएका छन्। करिब नौ हजार ७१५ किलोमिटर सडक सञ्जालमा ट्राफिक व्यवस्थापनका लागि जम्मा २२० ट्राफिक प्रहरी खटिएका छन्। यसअनुसार एक ट्राफिक प्रहरीले औसतमा ४५ किलोमिटर सडकको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था रहेको छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम, राडार गनमार्फत गति परीक्षण, मापसे तथा लागूऔषध सेवन परीक्षण, विद्यालय तथा कलेजमा ट्राफिक शिक्षा, चालकसँग अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोको सुनुवाइलाई निरन्तरता दिएको जनाएको छ।

प्रहरीले रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, भेरी करिडोर, नाग्मा–मुगु सडक, सल्ली–सल्ला–हिल्सा सडकखण्ड तथा मध्यपहाडी लोकमार्गका जोखिमयुक्त स्थानमा सडक सुरक्षा पूर्वाधार विस्तार, ट्राफिक संकेत, गति नियन्त्रण तथा सरोकारवाला निकायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका इन्जिनियर प्रेमबहादुर वलीले सडक सुरक्षा सुधारका लागि ’सेफ सिस्टम’ अवधारणा लागू गरिने बताए। उनका अनुसार सडक सुरक्षा परीक्षण, ब्ल्याक स्पट सुधार, स्मार्ट ट्राफिक व्यवस्थापन, डिजिटल निगरानी, वैज्ञानिक रुट व्यवस्थापन तथा सुरक्षित सडक अभियानलाई प्राथमिकता दिइनेछ।

प्रदेश सरकारले चालु नीति तथा कार्यक्रममा सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम र कालिकोटमा सडक दुर्घटना न्यूनीकरणका विशेष कार्यक्रम सञ्चालन गर्ने, ट्राफिक संकेत, सडक बत्ती, सवारी परीक्षण केन्द्र तथा आधुनिक ट्रायल सेन्टर विस्तार गर्ने योजना अघि सारेको छ।

सडक डिभिजन सुर्खेतका प्रमुख विवशबाबु सदादेवले सडक सुरक्षाका लागि आगामी आर्थिक वर्षमा बजेट उल्लेख्य रूपमा बढाइएको जानकारी दिए। चालु वर्षको एक करोड रुपैयाँको तुलनामा आगामी वर्ष सडक सुरक्षा कार्यक्रमका लागि आठ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। उक्त बजेटबाट दुर्घटनाको उच्च जोखिम भएका स्थानमा क्र्यास ब्यारियर, रोड मार्किङ, ट्राफिक लाइट, राउन्डअबाउट लगायत सुरक्षा पूर्वाधार निर्माण गरिनेछ।

साथै कर्णाली राजमार्गको स्तरोन्नति, हर्रे–बाङ्गेसिमल र छिन्चु–जाजरकोट सडकखण्डमा सुरक्षा संरचना निर्माण तथा वीरेन्द्रनगर चारलेन सडकमा ट्राफिक लाइट सञ्चालनलाई प्राथमिकता दिइएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सडक पूर्वाधारसँगै सडक प्रयोगकर्ताको जिम्मेवारी र सचेतना पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। सुविधा सम्पन्न सडक निर्माण मात्रै गरेर दुर्घटना रोक्न नसकिने उल्लेख गर्दै उनले सडक सुरक्षित भए पनि चालक र सडक प्रयोगकर्ता जिम्मेवार नभए ज्यान जोखिममा पर्ने बताए।

उनले कानुन कार्यान्वयन गराउने निकायबाटै नियम उल्लंघन हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै ट्राफिक नियम पालना गर्ने दायित्व केवल ट्राफिक प्रहरीको नभई हरेक चालक र सडक प्रयोगकर्ताको भएको बताए। सडक दुर्घटना न्यूनीकरण सरकार, सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी र आम नागरिकको साझा प्रयासबाट मात्र सम्भव हुने उनको भनाइ थियो।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेशमै सबैभन्दा बढी दुर्घटना सुर्खेतमा हुनु चिन्ताजनक भएको बताउँदै दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिइन्। उनले सञ्चारमाध्यम र नागरिक समाजले समस्यासँगै समाधानका उपायलाई पनि प्राथमिकता दिनुपर्ने तथा चालकले आफ्नो जिम्मेवारीप्रति आत्मअनुशासित हुनुपर्ने बताइन्।

प्रकाशित: ४ असार २०८३ १९:३६ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast