काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्ने बताएका छन्।
मन्त्रालयद्वारा सोमबार आयोजना गरिएको ‘प्रा.यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा उनले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको बताए।
‘विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्’, मन्त्री खनालले भने,‘अन्ततः परराष्ट्र नीतिले जनताको कल्याण, आकांक्षा तथा समृद्धिको सेवा गर्नुपर्छ।’
मन्त्री खनालले विश्वमा प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै आर्थिक साधन, आपूर्ति शृङ्खला तथा महत्त्वपूर्ण पूर्वाधारले अन्तरराष्ट्रिय सम्बन्धमा बढ्दो प्रभाव पारिरहेको बताए।
‘कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अर्थतन्त्रलगायत उदीयमान प्रविधिले शक्ति तथा अवसरको विश्वव्यापी वितरणलाई पुनः परिभाषित गरिरहेका छन्’,उनले भने,‘नेपालजस्ता देशहरूका लागि यी परिवर्तनहरूले चुनौती र अवसर दुवै प्रस्तुत गरेका छन्।’
लामो समयदेखि महत्त्वपूर्ण सुरक्षा कवच प्रदान गर्दै आएको बहुपक्षीय प्रणाली बढ्दो दबाबको सामना गरिरहेको बताउँदै उनले यसका बाबजुद सहकार्य, सम्पर्क सञ्जाल, प्रविधि तथा आर्थिक साझेदारीका नयाँ सम्भावना पनि उदाइरहेको धारणा राखे।
मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरू, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्वप्रति दृढ प्रतिबद्ध रहेको बताए। ‘यी सिद्धान्तहरूले आज पनि हाम्रो बाह्य सम्बन्धको आधार प्रदान गरिरहेका छन्’, उनले भने।
भूराजनीति नेपालका लागि स्थायी यथार्थ भएको उनले बताए। उनले भने, ‘हामीले प्रत्येक विषयलाई केवल भूराजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बाह्य घटनाक्रमको अत्यधिक सतर्क वा संकीर्ण व्याख्याले कहिलेकाहीँ विकास तथा सहकार्यका वैध अवसरहरूको खोजी गर्ने हाम्रो क्षमतालाई सीमित गर्न सक्छ।’
आपसमा अन्तरसम्बन्धित विश्वमा भूगोललाई केवल सीमितताका रूपमा हेर्नु नहुनेमा जोड दिँदै उनले सही रूपमा बुझ्दा यसले विचार, बजार, जनता तथा अवसरहरूलाई जोड्ने पुलको भूमिका निर्वाह गर्न सक्ने बताए।
यही दृष्टिकोणले हालका दिनमा छिमेकी मुलुकसँग भएका सरकारका कूटनीतिक संलग्नतालाई मार्गदर्शन गरेको उनले बताए। ‘भारत तथा चीनका मेरा हालैका भ्रमणका क्रममा भएका छलफल व्यावहारिक सहकार्य तथा पारस्परिक हितका साझेदारीमा केन्द्रित थिए’, उनले भने।
कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले परिवर्तनशील भूराजनीतिक तथा भूआर्थिक परिदृश्य सम्बन्धमा नेपालको परराष्ट्र नीतिका अवसर तथा सीमितता सम्बन्धमा मुख्य वक्तव्य दिएका थिए।
यस वर्षको व्याख्यानको विषय ‘नेपालको परराष्ट्र नीतिः भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ रहेको थियो।




