काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै भाद्र २३ र २४ गते युवाहरुले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए।
वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पतिको छानविन गर्न आयोग बनाएकाले आफू र कांग्रेसका सवै सदस्यहको बिबरण बुझाउने उनले बताए। उनले न्यायालयमा काम गरेका केही पूर्वन्यायमूर्ती र केही राजनीतिक दलका नेताहरूले विवरणहरू नबुझाउने भनेकोमा यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको धारणा राखे।
उनले सम्पतिको छानविन गर्न आयोगले अब सम्पत्ति छानविनको प्रक्रियालाई निरन्रता दिनुपर्नेमा जोड दिए। सभापति थापाले सरकारले गठन गरेको आयोगले गर्ने कामहरुको स्वच्छता र पारदर्शितामाथि भने प्रश्न उठ्न नहुने तर्क गरे।




