डोनाल्ड ट्रम्प। फाइल तस्बिर
काठमाडौँ- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी वर्षको सुरुवातमै भारतको भ्रमण गर्न सक्ने बताएका छन्।
उनले यो कुरा समाचार एजेन्सी आईएएनएसलाई दिएको एक अन्तर्वार्तामा बताएका हुन्।
रुबियोले भारत र अमेरिका व्यापार सम्झौताको निकै नजिक पुगेको पनि उल्लेख गरेका छन्।
उनले भने,‘मलाई लाग्छ कि सबै कुरा उत्कृष्ट ढंगले अगाडि बढिरहेको छ। मेरो मतलब, सम्बन्ध निकै बलियो छ। जी–७ मा राष्ट्रपति ट्रम्पको प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो भेटवार्ता भएको थियो। हामी एउटा व्यापार सम्झौतालाई अन्तिम रुप दिने आशा गरिरहेका छौँ।’
रुबियोले अमेरिका र भारतबीच चाँडै व्यापार सम्झौता हुने उल्लेख गरे। उनले आफू पनि भारत भ्रमणको प्रतिक्षामा रहेको बताए।
‘म आफैँ पनि यस वर्षको अन्त्यअघि भारत भ्रमणको प्रतिक्षामा छु र आगामी वर्षको सुरुवातमै राष्ट्रपतिको भ्रमणको तयारीको काम गरिरहेको छु,’ उनले भने।
ट्रम्पले भारतबाट आयात हुने सामानमा ट्यारिफ लगाएपछि दुबै मुलुकबीचको सम्बन्ध चिसिएको बताइएको छ।




