दुईतिहाइको बलमा देशविरुद्ध गतिविधि गर्न पाइँदैन,हामी मरेका छैनौं,फेरि उठ्छौं : ओली

हिमाल प्रेस १४ असार २०८३ १७:०५ | Sunday, June 28, 2026
12
SHARES
दुईतिहाइको बलमा देशविरुद्ध गतिविधि गर्न पाइँदैन,हामी मरेका छैनौं,फेरि उठ्छौं : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति अहिलेसम्म खण्डन नभएको भन्दै आपत्ति जनाएका छन्। देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको दाबी गर्दै उनले त्यसलाई परास्त गर्ने बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले चितवनमा गएर प्रधानमन्त्रीले लिपुलेक र कालापानी नेपालको भएको अभिव्यक्ति दिँदैमा विवादित भनाइको खण्डन नहुने बताए।

उनले भने,‘चितवनमा गएर लिपुलेक, कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भो? लिपुलेक, कालापानी नेपालको हो भन्ने कुरा एउटा कुरा हो। त्यो बेग्लै कुरा हो। त्यस सम्बन्धमा त संसद्‌मा विवाद भएको होइन। विवाद भएको, नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ, भूमि मिचेको छ भन्ने कुरामा विवाद भएको हो, जुन कुरा खण्डित छैन, खण्डन गरेको छैन।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई अरू मन्त्रीले ‘लटपट’ गरेर जवाफ दिँदैमा त्यसको खण्डन नहुने उनको भनाइ थियो। उनले सरकारले संयुक्त राष्ट्रसंघले मान्यता दिएका अधिकारहरू समेत खोस्ने प्रयास गरिरहेको आरोप लगाए।

ओलीले प्रतिगमन रोक्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनले संविधान संशोधन पनि देश र जनताको हितमा हुनुपर्ने भन्दै दुईतिहाइको बलमा देशविरुद्धका गतिविधि गर्न नहुने बताए।

कार्यक्रममा उनले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै आफूहरूलाई कमजोर नठान्न आग्रह गरे।

उनले भने,‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं। धुलो टक्टक्याउँदै उठ्छौं। अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं।’

ओलीले वर्तमान सरकारका गतिविधिप्रति पनि असन्तुष्टि जनाए। असंवैधानिक ढंगबाट संसद् विघटन गरी निर्वाचनमा गएको प्रसंग उल्लेख गर्दै त्यसबेला सबै शक्तिहरू एक ठाउँमा उभिन नसकेको बताए।

उनले भने, ‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले। यो चुनाव वामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन। पहिले नै परिणाम तय थियो। अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको छ।’

प्रकाशित: १४ असार २०८३ १७:०५ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast