विश्वकपसँग जोडिएका शीर्ष १० खेलाडी- पेलेदेखि एमबापेसम्म

हिमाल प्रेस ३१ जेठ २०८३ १८:१७ | Sunday, June 14, 2026
20
SHARES
विश्वकपसँग जोडिएका शीर्ष १० खेलाडी- पेलेदेखि एमबापेसम्म

लगभग एक शताब्दीमा फैलिएका २२ वटा प्रतियोगिताबाट हजारौँ खेलाडीलाई छाँटेर सर्वकालीन शीर्ष १०  छनोट गर्नु सजिलो छैन। उदाहरणका लागि जर्मनीका मिरोस्लाभ क्लोजलाई सूचीबाट बाहिर राख्नु गाह्रो छ। यद्यपि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता अन्ततः झिनो अन्तरले ११औँ स्थानमा पर्नेछन्।

यहाँ ब्राजिलियन विंगर ग्यारिन्चा, इटालियन प्रतीक रोबर्टो बाज्जियो र फ्रान्सका स्ट्राइकर जस्ट फोंटेनका लागि पनि स्थान छैन। डच प्रतीक योहान क्रुइफ, पोर्चुगलका स्ट्राइकर युसेबियो र जर्मनीका गोलमेसिन गर्ड मुलरजस्ता महान् खेलाडी पनि सूचीबाट बाहिर पर्छन्। सायद शीर्ष २० बनाएको भए यो सजिलो हुन्थ्यो होला?त्यसैगरी स्पेनको २०१० को उत्कृष्ट टोलीको सामूहिक सौन्दर्यका कारण त्यहाँबाट कुनै एक व्यक्तिगत खेलाडीलाई सूचीमा समावेश गरिएको छैन।

आखिर कसले स्थान पाउँछ त?! यहाँ शीर्ष १० खेलाडी छनोट गरिएको छ- जो विश्वकपसँग सबैभन्दा गहिरो रूपमा जोडिएका छन्।

१०. सर जेफ हर्स्ट, इङ्ग्ल्यान्ड, १९६६ विश्वकप विजेता

इंग्ल्यान्डका स्टार स्ट्राइकर जिम्मी ग्रिभ्स समूह चरणमा घाइते भएकाले १९६६ को फाइनलसम्म पुग्दा उनी फेरि ‘फिट’ हुँदै थिए र पश्चिम जर्मनीविरुद्धको फाइनलमा उनलाई नै खेलाउनुपर्ने दबाब थियो।

प्रशिक्षक सर अल्फ राम्सेले केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय डेब्यु गरेका खेलाडीमाथि विश्वास गरे। वेस्ट ह्यामका फरवार्ड हर्स्टले सानदार ह्याट्रिक गर्दै इंगल्यान्डलाई इतिहासमा एकमात्र विश्वकप उपाधि दिलाए— त्यो पनि आफ्नै देशको भूमिमा।

टोलीमा हर्स्ट सबैभन्दा प्रतिभाशाली र प्रतिष्ठित खेलाडी थिएनन्, तर निर्णायक खेलमा गरिएको ह्याट्रिकलाई कम आँक्न सकिन्न। यो त्यस्तो ऐतिहासिक उपलब्धि हो, जसको बराबरी फ्रान्सका किलियन एमबापेले चार वर्षअघि कतारमा गरेका थिए। यद्यपि उनको टोली पराजित भयो।

९. काफु, ब्राजिल, १९९४ र २००२ विश्वकप विजेता

यसको असिस्ट हामी केभिन ब्रिजेसलाई दिन्छौँ। ती हास्यकलाकार क्लाइडब्यांकबाट कोपाकाबानासम्म यात्रा गर्छन्, ‘जोगो बोनितो’ (सुन्दर खेल) को खोजीमा र त्यही क्रममा उनले महान काफुलाई भेट्छन्— जो लगातार तीन विश्वकप फाइनलमा खेलेका एकमात्र खेलाडी हुन्।

यी आक्रामक फुलब्याक १९९४ मा ब्राजिलले इटालीलाई पेनाल्टीमा हराएर उपाधि जित्दा बेन्चबाट मैदानमा आएका थिए। उनी १९९८ मा फ्रान्समा उपविजेता बने। काफुले २००२ मा जापान र दक्षिण कोरियामा कप्तानका रूपमा उपाधि उचाले।

काफु विश्वकपका राजपरिवारजस्तै हुन्। चार भिन्न प्रतियोगितामा उनका १६ जितभन्दा बढी क्लोजसँग छ। तर उनी महान् खेलाडी मात्र होइनन्- आफ्नो जरा कहिल्यै नभुल्ने व्यक्तित्व पनि हुन्। २००२ मा उपाधि उचाल्दा उनले आफ्नो पहेँलो जर्सीमा ‘१०० प्रतिशत जार्डिम इरेने’ लेखेका थिए— साओ पाउलोको त्यो बस्तीप्रति समर्पण, जहाँ उनी हुर्किएका थिए।

८. पाओलो रोसी, इटाली, १९८२ विश्वकप विजेता

रोसीको विश्वकप परीकथा ब्राजिलविरुद्धको खेलबाट सुरु भयो, जुन प्रतियोगिताकै सबैभन्दा ऐतिहासिक खेलमध्ये एक मानिन्छ। पसिनाले भिजेको नीलो जर्सी र उपाधिका दाबेदार ब्राजिलको चम्किलो पहेँलो रङबीचको टक्कर, बार्सिलोनाको गुञ्जायमान माहोलमा खेलिएको एक क्लासिक भिडन्त।

इटालीको शक्ति उनीहरूको रक्षापंक्ति मानिन्थ्यो, तर रोसीले आफूलाई ह्याट्रिक नायकका रूपमा स्थापित गरे। पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा निर्णायक गोल।

पेनाल्टी बक्सभित्रका सिकारी रोसीले पोल्यान्डविरुद्धको सेमिफाइनल जितमा दुई गोल गरे। त्यसपछि पश्चिम जर्मनीविरुद्ध बर्नाबेउमा भएको फाइनलमा पहिलो गोल गर्दै इटालीलाई १९३८ पछि पहिलो विश्वकप जित दिलाए। त्यति बेला इटालीले ३–१ को जित हात पारेको थियो।

रोसीका ६ गोलले उनलाई गोल्डन बुट, गोल्डन बल, साथै विश्व वर्ष खेलाडीको उपाधि दिलाएको थियो।

७. जिनेदिन जिदान, फ्रान्स, १९९८ विश्वकप विजेता

१९९८ मा फ्रान्सले विश्वकप जितेको खुसीमा एक लाखभन्दा बढी उत्साही समर्थकहरू च्याम्प्स–एलिसेमा भरिएका थिए।
जिदान दोस्रो पुस्ताका अल्जेरियाली आप्रवासी हुन्। उनी उत्तरी मार्सेईको कङ्क्रिट अपार्टमेन्ट बस्तीमा हुर्किएका थिए। उनी बहुसांस्कृतिक ले ब्लु टोलीका प्रमुख खेलाडी र प्रतीक बने। जसले अन्ततः विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि घरमै ल्यायो।

‘हामीले अनुभव गर्‍यौँ कि जिदान नै त्यस्तो खेलाडी हुन् जसले खेलको नतिजा बदल्न सक्छन्’, फ्रान्सका डिफेन्डर लिलियन थुरामले भने।

महान् मिडफिल्डर जिदानको विश्वकप विरासत महत्त्वपूर्ण गोल, कलात्मक खेल र कहिलेकाहीँ हुने आक्रोशपूर्ण रातो कार्डहरूको मिश्रण हो। सन् २००६ को फाइनलमा इटालीसँगको हार उनको मातेराज्जीमाथि गरेको हेडबटका कारण पनि सम्झिइन्छ तर १९९८ मा पनि उनले समूह चरणमा साउदी अरेबियाविरुद्ध रातो कार्ड पाएपछि दुई खेल गुमाएका थिए।

उनी क्वार्टरफाइनलमा फर्किए। इटाली र त्यसपछि क्रोएसियालाई पराजित गर्न टोलीलाई नेतृत्व दिए र फाइनलमा ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। दुवै कर्नरबाट हेडर, जसले पेरिसमा विशाल उत्सव सुरु गराएको थियो।

६. किलियन एमबापे, फ्रान्स, २०१८ विश्वकप विजेता

एमबापेको विश्वकप विरासत अझै लेखिँदै छ। २७ वर्षीय उनी अझै दुई वा तीन वटा प्रतियोगितामा खेल्ने सम्भावनासहित सक्रिय छन्। फ्रान्सका यी सुपरस्टारले करियरको अन्त्यसम्म पुग्दा यो सूचीको शीर्ष स्थानमा पनि चुनौती दिन सक्छन्।

यी स्ट्राइकरले २०१८ मा रूसमा १९ वर्षको उमेरमै उत्कृष्ट प्रदर्शन गरे। फ्रान्सका सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने। साथै १९५८ मा पेलेपछि नकआउट खेलमा दुई गोल गर्ने पहिलो किशोर र फाइनलमा गोल गर्ने पनि पेलेपछि पहिलो किशोर बने। उक्त खेलमा फ्रान्सले क्रोएसियालाई हराएको थियो।

एमबापेको करियर विश्वकपमै सबैभन्दा बढी चम्किएको मानिन्छ। पेरिस सेन्ट-जर्मेन र अहिले रियल म्याड्रिडमा उनी अत्यन्त सफल भए पनि च्याम्पियन्स लिग जित्न सकेका छैनन्, तर फ्रान्सका लागि विश्वकपजस्तो ठूलो मञ्चमै उनी सबैभन्दा बढी चम्किएका छन्।

२०२२ को अर्जेन्टिनाविरुद्धको फाइनलमा उनको एक सानदार भलीसहित ह्याट्रिक थियो। त्यो खेल दोस्रो पटक विश्वकप जित्नलायक थियो। तर त्यतिबेला उनी लियोनेल मेस्सी र उनको टोलीसँग सामना गरिरहेका थिए।

५. फ्रान्ज बेकेनबाउर, पश्चिम जर्मनी, १९७४ विश्वकप विजेता (र १९९० मा प्रशिक्षकका रूपमा जर्मनी विजेता)

बेकेनबाउर १९६६ मा उपविजेता बनेका थिए। चार वर्षपछि तेस्रो स्थानमा पुगे। १९७४ मा उनले विश्वकप ट्रफी हात पारे, जहाँ उनले कप्तानका रूपमा अत्यन्तै चर्चित नेदरल्यान्डसलाई पराजित गर्दै पश्चिम जर्मनीलाई जित दिलाएका थिए।

बेकेनबाउर सुन्दर पासिङ र खेल निर्माण गर्ने एक एलिगेन्ट डिफेन्डर हुन्। उनले घरेलु टोलीलाई नेतृत्व गर्दै योहान क्रुइफको टोटल फुटबल शैलीलाई रोक्न सफल भए। त्यही शैली जसले उनको आफ्नै खेल शैलीलाई पनि प्रभाव पारेको थियो।

१९८६ मा पश्चिम जर्मनी अर्जेन्टिनासँग पराजित भयो, तर चार वर्षपछि बेकेनबाउरले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने दुर्लभ उपलब्धि हासिल गरे। त्यति बेला उनको टोलीले इटालीमा अर्जेन्टिनामाथि बदला लियो।

४. लियोनेल मेस्सी, अर्जेन्टिना, २०२२ विश्वकप विजेता

मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै ३० वर्षको उमेर नाघिसकेका थिए तर अझै पनि उनीहरूबीच विश्वकप उपाधि थिएन। कतारमा अर्जेन्टिनाका यी खेलाडीले साउदी अरेबियासँगको चकित पार्ने हारपछि प्रारम्भिक चरणबाट बाहिरिने अवस्थासम्म सामना गर्नुपर्‍यो। मेस्सीले २०१४ मा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए।

उनले आफ्नो पाँचौँ विश्वकपमा टोलीको भाग्य उल्टाइदिए। मेक्सिकोविरुद्ध एक गोल र एक असिस्ट गरे। त्यसपछि अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध गोल गरे। क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी गोल गरे र सेमिफाइनलमा क्रोएसियाविरुद्ध पनि पेनाल्टीबाट गोल गरे।

फ्रान्सविरुद्धको ऐतिहासिक फाइनलमा मेस्सी फेरि प्रेरणादायी बने। सानो कदका जादुगरले दुई गोल गरे जसले प्रतियोगितामा उनको कुल गोल संख्या सात पुर्‍यायो र त्यसपछि पेनाल्टी सुटआउटमा पनि गोल गर्दै अर्जेन्टिनालाई १९८६ मा डिएगो म्याराडोनाको युगपछि पहिलो विश्वकप जित दिलाए।

३. रोनाल्डो, ब्राजिल, १९९४ र २००२ विश्वकप विजेता

यो कथा प्रायः पुनरागमन र पुनर्स्थापनाको रूपमा चिनिन्छ। काफुजस्तै स्ट्राइकर रोनाल्डो १९९४ मा ब्राजिलको टोलीमा थिए। १७ वर्षको उमेर भएकाले कुनै पनि खेलमा मैदानमा उत्रिएनन्।

चार वर्षपछि उनी आफ्नो चरम फर्ममा थिए। अतुलनीय गति, कौशल र निर्मम फिनिसिङको मिश्रणले उनलाई विश्वकै उत्कृष्ट खेलाडीका रूपमा चिनायो।

उनले चार गोल गर्दै ब्राजिललाई फाइनलसम्म पुर्‍याए तर फाइनलअघि भएको चोटका कारण खेल्ने कि नखेल्ने भन्ने अन्योलका कारण उनले फ्रान्सविरुद्धको फाइनलमा आफ्नो स्वाभाविक प्रदर्शन देखाउन सकेनन् र ब्राजिल ठूलो अन्तरले पराजित भयो।

२००२ को अर्को विश्वकप आउनुअघि उनका वर्ष घुँडाको चोटले प्रभावित भए। उनले इन्टर मिलान र ब्राजिलका लागि निकै कम खेल खेले र उनको टोलीमा स्थान पनि अनिश्चित थियो।

जापान र दक्षिण कोरियामा उनले फेरि आफ्नो चमक फर्काए— आठ गोल गर्दै। त्यसमा जर्मनीविरुद्ध फाइनलमा दुई गोल पनि थिए। उनले त्यति बेला पेरिसको पीडादायी सम्झनालाई मेटाइदिएका थिए।

चार वर्षपछि जर्मनीमा भएको प्रतियोगितामा उनले आफ्नो विश्वकप गोल संख्या १५ पुर्‍याए, जुन त्यतिबेलासम्मको कीर्तिमान थियो।

२. डिएगो म्याराडोना, अर्जेन्टिना, १९८६ विश्वकप विजेता

यहाँ उनी दोस्रो स्थानमा छन् तर म्याराडोना जत्तिको बक्स अफिस आकर्षण अरू कोही छैन—उनका विश्वकप सहभागिताले यो कुरा प्रमाणित गर्छन्।

१७ वर्षको उमेरमा १९७८ मा उनी घरमै रहे। त्यतिबेला अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई हराउँदै आफ्नो पहिलो विश्वकप जितेको थियो। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चसँग उनको पहिलो अनुभव भने चार वर्षपछि आयो जहाँ उनले टाइटल डिफेन्डर टोली ब्राजिलसँगको कडा भिडन्तमा प्रतिक्रिया दिँदै रातो कार्ड पाए र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरियो।

म्याराडोनाको निर्णायक गर्मी सन् १९८६ मा मेक्सिकोमा आयो। सम्भवतः इतिहासकै सबैभन्दा उत्कृष्ट व्यक्तिगत प्रदर्शन मानिने त्यो प्रतियोगिता विशेषगरी इङ्ग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा उनले गरेका दुई गोलका कारण सम्झिइन्छ।

पहिलो गोल ‘ह्यान्ड अफ गड’ थियो। दोस्रो भने शुद्ध प्रतिभाको नमुना— आफ्नै आधा मैदानबाट सुरु भएको अविश्वसनीय ड्रिब्लिङ, जसले इङ्ग्ल्यान्डका खेलाडीलाई स्तब्ध बनाउँदै गोलकिपर पिटर सिल्टनलाई पनि छक्याएर गोल पूरा गरे।

उनले सेमिफाइनलमा बेल्जियमविरुद्ध फेरि दुई गोल गरे, त्यसपछि फाइनलमा पश्चिम जर्मनीलाई हराउँदै अर्जेन्टिनालाई उपाधि दिलाए। उनले प्रतियोगिता पाँच गोल र उत्तिकै असिस्टका साथ समाप्त गरेका थिए।

१९९० मा अर्जेन्टिना उनको आँसुका बीच उपविजेता बन्यो र चार वर्षपछि एल पिबे दे ओरो (सुनौलो बालक) को विश्वकप यात्रा ड्रामा र विवादले भरिँदै समाप्त भयो। उनी समूह चरणमै प्रतिबन्धित औषधि प्रयोगको आरोपमा घर फर्काइए।

१. पेले, ब्राजिल, १९५८, १९६२ र १९७० विश्वकप विजेता

तीनवटा विश्वकप जित्ने एकमात्र खेलाडी पेले नै हुन्। ती सबै जित भिन्नभिन्न दशकमा भएका थिए। सोही कारण उनलाई दशकौँदेखि खेलकुदको सबैभन्दा प्रतिष्ठित नामका रूपमा श्रद्धा गरिन्छ।

ब्राजिलले १९५० मा माराकाना स्टेडियममा उरुग्वेसँग अप्रत्यासित हार बेहोरेपछि उनले आफ्नो बुवासँग आफूले विश्वकप जित्ने बाचा गरेका थिए। आठ वर्षपछि मात्र १७ वर्षको उमेरमा उनले १९५८ मा फ्रान्सविरुद्ध सेमिफाइनलमा ह्याट्रिक गरे। स्विडेनविरुद्धको फाइनलमा दुई गोल थप्दै विश्वलाई आफ्नो प्रतिभाले चकित पारे।

चार वर्षपछि उनी टोलीमा त रहे, तर पहिलो खेलमै गोल गरेपछि चोटका कारण अधिकांश खेल गुमाए। १९६६ मा विश्वकै उत्कृष्ट खेलाडी मानिँदा पनि उनीमाथि भएको कठोर ट्याकलिङका कारण उनी निकै निराश भए। उनले भविष्यमा विश्वकप नखेल्ने कसम खाए।

तर १९७० मा पेले फेरि फर्किए। मेक्सिकोमा देशको सम्पूर्ण भार बोकेर उनले उत्कृष्ट, सृजनात्मक र नवीन खेल प्रदर्शन गरे। पहेँलो जर्सीमा चम्किँदै ब्राजिललाई फाइनलसम्म पुर्‍याए र इटालीलाई ४–१ ले पराजित गर्दै उपाधि जिते। जहाँ उनले पहिलो गोल गरे र अरू दुईमा असिस्ट पनि दिएका थिए। पेले विश्वकप इतिहासकै सबैभन्दा महान् र लिजेन्डरी खेलाडी हुन्। बीबीसीबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast