अमेरिकाको क्यान्सस राज्यस्थित क्यान्सस सिटीमा सोमबार विश्वकप फुटबल प्रतियोगिताको तयारीका क्रममा प्रशिक्षण गर्दै अर्जेन्टिनाका लियोनल मेस्सी। तस्बिर : एपी/रासस
काठमाडौँ- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।
केप भर्डेविरुद्ध अन्तिम १६ का लागि भएको खेलमा गोल गर्दै उनी विश्वकपका लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् ।
मेस्सीको यो अद्वितीय गोल शृंखला सन् २०२२ को विश्वकपबाट सुरु भएको थियो । उनले अष्ट्रेलियाविरुद्ध गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध एक गोल र एक असिस्ट, क्रोएसियाविरुद्ध एक गोल र एक असिस्ट तथा फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।
त्यसपछि सन् २०२६ विश्वकपमा अल्जेरियाविरुद्ध ह्याट्रिक, अष्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल र केप भर्डेविरुद्ध पनि गोल गर्दै लगातार आठ खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने। केप भर्डेविरुद्धको गोलसँगै मेस्सीले विश्वकपमा आफ्नो करियरको २०औँ गोल पनि पूरा गरेका छन्। यसका साथै उनी २०२६ विश्वकपको गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा पुगेका छन्।
३९ वर्षीय मेस्सीले उमेर बढ्दै जाँदा पनि विश्व फुटबलमा नयाँ कीर्तिमानहरू थपिरहेका छन्। लगातार आठ विश्वकप खेलमा गोल गर्ने उनको उपलब्धिलाई आधुनिक फुटबलकै सबैभन्दा दुर्लभ व्यक्तिगत कीर्तिमानमध्ये एक मानिएको छ।




