लामिन यामाल : विश्व फुटबलको नयाँ तारा

हिमाल प्रेस १ साउन २०८३ १३:०४ | Friday, July 17, 2026
4
SHARES
लामिन यामाल : विश्व फुटबलको नयाँ तारा सन् २००७ मा लामिन यामाल र उनकी आमासँग मेस्सी। फाइल तस्बिर : एपी

सन् २००७ को डिसेम्बरमा २० वर्षीय लियोनेल मेस्सीले एक परोपकारी क्यालेन्डरका लागि प्लास्टिकको टबमा एउटा शिशुलाई नुहाइरहेको फोटो खिचाएका थिए। त्यो कार्यक्रम उनको क्लब बार्सिलोनाले आयोजना गरेको थियो र ती शिशु स्थानीय बालक लामिन यामाल थिए। वर्षौँपछि १६ वर्षको उमेरमै यामाल विश्व फुटबलमा उदाएपछि उक्त तस्बिरले नयाँ अर्थ पायो- मानौँ संसारकै महान् खेलाडी मेसीले आफ्नै ‘फुटबल पुत्र’लाई आशीर्वाद दिइरहेका थिए।

मेसीझैँ बायाँ खुट्टाले खेल्ने दायाँ विंगर यामालले पनि बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाटै आफ्नो यात्रा सुरु गरे। वास्तवमा सोमबार १९ वर्ष पुगेका यामालले सोही उमेरसम्म मेस्सीभन्दा बढी उपलब्धि हासिल गरिसकेका छन्। १७ औँ जन्मदिनलगत्तै उनले स्पेनलाई युरो–२०२४ को उपाधि दिलाए। त्यसपछि बार्सिलोनासँग दुई पटक स्पेनी लिग जिते। अब आइतबार उनी विश्वकप फाइनलमा आफ्नै आदर्श मेसीको अर्जेन्टिनाविरुद्ध मैदान उत्रिनेछन्। यस प्रतियोगितामा चोटका कारण उनी उत्कृष्ट लयमा नरहे पनि उनी इतिहासकै सबैभन्दा सफल युवा फुटबलरमध्ये एक मानिन्छन्।

यामालकी आमा इक्वेटोरियल गिनीबाट स्पेन पुगेकी थिइन् भने उनका बुबा मोरक्कोबाट आएका थिए। आमाबुबाको सम्बन्धविच्छेदपछि उनी बार्सिलोनाको उत्तरतर्फ पर्ने समुद्री सहर मातारोको आप्रवासी बहुल रोका फोन्डा क्षेत्रमा आफन्तसँग हुर्किए। उनकी आमा म्याकडोनाल्ड्समा काम गर्थिन् भने काकाले बेकरी सञ्चालन गर्थे।

मेस्सीजस्तै यामाल पनि जन्मजात प्रतिभा र विश्वकै उत्कृष्ट फुटबल प्रशिक्षण प्रणालीको दुर्लभ संयोजन बने। सन् २०१८ मा पत्रकार भिभियन वाल्टले ला मासियाका एक प्रशिक्षकलाई ‘अर्को मेसी को हुन सक्छ?’ भनेर सोध्दा उनले सुन्तला रङका बुट लगाएको १० वर्षीय बालकलाई देखाउँदै भनेका थिए—‘लामिन यामाल।’ वाल्टले आफ्नो नोटबुकमा त्यही नाम लेखिन्।

ला मासियामा उनले स्पेनी शैलीको सामूहिक पासिङ र उच्च प्रेसिङ खेल आत्मसात् गरे। १५ वर्षको उमेरमै बार्सिलोनाबाट डेब्यु गरेका उनले गोल गरेपछि औँलाले ‘३०४’ बनाउँदै उत्सव मनाउँथे। यो रोका फोन्डाको हुलाक कोडका अन्तिम तीन अंक थिए।

१५ वर्षकै उमेरमा उनले कतार विश्वकपमा स्पेन मोरक्कोसँग पराजित हुँदै बाहिरिएको दृश्य हेरे। मोरक्कोले उनलाई आफ्नो राष्ट्रिय टोलीमा ल्याउन निकै प्रयास गरेको थियो। त्यसबेला स्पेनको खेल तेर्सो पासमा सीमित थियो, मानौँ फुटबलको उद्देश्य मैदानको चौडाइ मात्र नाप्नु हो।

यामालले १६ वर्ष ५७ दिनको उमेरमा स्पेनबाट डेब्यु गर्दै सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता बनेपछि सबै बदलियो। उनको गति र ड्रिब्लिङले ‘ला रोजा’ (स्पेन) लाई हराइरहेको सबैभन्दा महत्त्वपूर्ण तत्त्व दियो। स्पेनीहरू यसलाई अगाडि बढ्ने आक्रामक शैली भन्छन्।

रक्षकहरूका लागि उनी दोहोरो चुनौती हुन्। उनको तीव्र गतिका कारण डिफेन्डरहरू पछाडि हट्न बाध्य हुन्छन्। तर त्यसो गर्दा उनले सटिक पास वा उत्कृष्ट प्रहारबाट सजाय दिन सक्छन्।

युरो २०२४ सुरु हुँदा यामाल १६ वर्षका थिए। दाँतमा ब्रेसेस लगाएका र बालसुलभ अनुहार भएका उनी प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडी देखिन्थे। त्यही प्रतियोगितामा उनले युरो वा विश्वकपमा गोल गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बने। यसअघि त्यो कीर्तिमान १९५८ मा १७ वर्षका पेलेको नाममा थियो।

बार्सिलोनाले सधैँ ला मासियाका प्रतिभालाई सानै उमेरमा अवसर दिने परम्परा राखेको छ। तर अहिले आर्थिक संकटमा रहेको क्लब महँगा खेलाडी किन्न नसक्ने भएकाले यामालजस्ता किशोर खेलाडीमाथि अझ बढी निर्भर हुनुपरेको छ। क्लब र स्पेन दुवैले उनलाई लगातार खेलाए।

स्पेनका युवा स्टार लामिन यामाल।

अत्यधिक खेल्नुपरेपछि यामाललाई प्युबाल्जिया (कुम क्षेत्रमा हुने समस्या) देखियो। बार्सिलोनाका अन्य युवा खेलाडी अन्सु फाती, गाभी र पेद्री पनि लगातार चोटबाट पीडित भएका छन्। बार्सिलोनाले स्पेनमाथि यामाललाई अत्यधिक खेलाएको आरोप लगायो। गत शरद ऋतुमा क्लबले उनलाई राष्ट्रिय टोलीबाट फिर्ता बोलाएपछि स्पेनी फुटबल महासंघले ‘आश्चर्य र असन्तुष्टि’ व्यक्त गरेको थियो।

कम उमेरमै ठूलो सफलता पाउँदा आलोचना पनि सँगै आउँछ। यामालको १८औँ जन्मदिनको पार्टीमा फुटबलर र सामाजिक सञ्जालका चर्चित अनुहारहरू सहभागी थिए। पार्टीको ‘नयाँ धनाढ्य’ शैलीको आलोचना भयो। त्यहाँ मनोरञ्जनका लागि होचो कद भएका व्यक्तिहरूलाई प्रयोग गरिएको भन्दै स्पेनको एक संस्थाले विरोध जनाएको थियो।

नयाँ बहुसांस्कृतिक स्पेनको अनुहार बन्नु पनि सधैँ सजिलो हुँदैन। मुस्लिम धर्मावलम्बी यामालले इजिप्टसँगको मैत्रीपूर्ण खेलका क्रममा केही स्पेनी समर्थकले लगाएका इस्लामविरोधी नाराको खुलेर विरोध गरेका थिए। यसै वर्ष बार्सिलोनाले लिग जितेपछि निकालिएको विजययात्रामा उनले प्यालेस्टिनी झण्डा फहराए, जसले इजरायलका रक्षामन्त्रीलाई असन्तुष्ट बनायो।

यामाल भन्छन्, ‘मलाई कहिल्यै दबाब अनुभव हुँदैन।’

उनका शब्दमा, ‘मेरी आमाले मलाई १६ वर्षको उमेरमा जन्म दिनुभएको थियो। मेरा बुबा कहिलेकाहीँ हामीलाई खान दिन सडकबाट सामान उठाएर ल्याउनुहुन्थ्यो। त्यो नै वास्तविक दबाब हो। मैले खेलेको फुटबल होइन।’

उनले विश्वकपको सुरुआती खेलहरू बेन्चबाट सुरु गरे, तर पछि नियमित टोलीमा परे। बेल्जियमलाई क्वार्टरफाइनलमा हराएपछि उनले भने, ‘हरेक हप्ता आफूलाई अलि राम्रो अनुभव गरिरहेको छु।’

यस विश्वकपमा उनले मेसीले अर्जेन्टिनालाई जस्तै एक्लैले स्पेनलाई बोकेका छैनन्। उनको खातामा अहिलेसम्म कुनै असिस्ट छैन। साउदी अरेबियाविरुद्ध गरेको एक गोल मात्रै छ। तथ्यांक प्रदायक अप्टाका अनुसार उनले प्रतियोगितामा सबैभन्दा धेरै १०४ पटक बल गुमाएका छन्।

तर स्पेनलाई एक्लैले जिताउने जिम्मेवारी उनको होइन। उनी प्रतियोगिताकै सबैभन्दा बलियो सामूहिक टोलीका महत्त्वपूर्ण सदस्य हुन्। जहाँ मेसी, किलियन एम्बाप्पे वा जुड बेलिंघमले आफ्नो देशका लागि गोल गर्नुपर्ने जिम्मेवारी बोकेका छन्, त्यहाँ स्पेनले यामाललाई दायाँ विंगमा चौडाइ कायम राख्ने भूमिकामा प्रयोग गर्छ। यसले विपक्षीलाई उनीमाथि केन्द्रित हुन बाध्य बनाउँछ र बीचभाग तथा दायाँबाट आक्रमण गर्ने राइट–ब्याक पेद्रो पोरोका लागि ठाउँ खुला हुन्छ।

सामान्य प्रदर्शनले पनि यामालको आत्मविश्वास घटाएको छैन। फ्रान्सविरुद्धको सेमिफाइनलअघि उनले भनेका थिए, ‘फ्रान्सले कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग हो।’ त्यसपछि स्पेनले फ्रान्सलाई २–० ले हरायो।

युरो वा विश्वकपमा उनले सुरुआती रोजाइमा खेलेका सबै १२ खेल स्पेनले जितेको छ।

यामालभन्दा पनि अहिले उनका तीन वर्षीय सौतेनी भाइ केइन सामाजिक सञ्जालका ठूलो आकर्षण बनेका छन्। उनको ‘भामोस!’ उत्सव, रमाइला नाच र पपकर्नको बाल्टिनमा टाउको हाल्ने शैलीले लाखौँ दर्शकको मन जितेको छ।

यामाल भन्छन्, ‘उहाँलाई आफू भाइरल भएको थाहै छैन। घरमा जे गर्नुहुन्छ, त्यही गर्नुहुन्छ।’

उनी थप्छन्, ‘मेरो भाइ खुसी भएको र आमाले सधैँ सपना देखेको जीवन बाँचिरहेको देख्दा मेरो मन भरिन्छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने त्यो दृश्य त्यति सुखद नलाग्न सक्छ। गत साताको नेटो शिखर सम्मेलनमा उनले स्पेनलाई ‘नेटोको खराब साझेदार’ र ‘आशाहीन मानिसहरू’ भनेका थिए। आइतबार स्पेनले विश्वकप जित्यो भने ट्रम्पले ‘ला रोजा’लाई विश्वकप ट्रफी हस्तान्तरण गर्नुपर्ने हुन सक्छ। त्यसैबेला दर्शकदीर्घामा बसेर केइन उत्सव मनाइरहेका हुनेछन्।

आफैँले काखमा बोकेका शिशुसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी

प्रकाशित: १ साउन २०८३ १३:०४ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast