विद्यालय कर्मचारीहरू कालोपट्टि बाँधेर कार्यक्षेत्रमा खटिएका छन्।
काठमाडौँ- सामुदायिक विद्यालयका कर्मचारीहरूले हातमा कालोपट्टि बाँधेर सांकेतिक विरोध जनाउँदै काम गरेका छन्। विद्यालय कर्मचारी संघर्ष समिति तथा विभिन्न विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरूले आफ्नो समस्या लामो समयदेखि बेवास्ता गरिएको भन्दै विरोध कार्यक्रम सुरु गरेका हुन्।
कर्मचारीहरूले आफूहरूले विद्यालयको दैनिक सञ्चालन, अभिलेख व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा प्रशासनिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्य र सम्बन्धित निकायबाट उचित सम्मान, सेवासुविधा र सुनुवाइ नपाएको गुनासो गरेका छन्।
प्रदर्शनरत कर्मचारीहरूले भावनात्मक रूपमा आफ्नो पीडा व्यक्त गर्दै भनेका छन्,‘हामीले हातमा कालोपट्टि बाँध्यौँ तर जसले हाम्रो समस्या देख्नुपर्ने हो, उसैको आँखा, कान र मुखमा कालोपट्टि जस्तो भएको छ, त्यसैले हाम्रो आवाज सुनिँदैन र न्याय पाइँदैन।’
उनीहरूले विद्यालय कर्मचारीलाई अनावश्यक उपनाम नलगाउन र उनीहरूको कामलाई कमजोरीका रूपमा नहेर्न आग्रह गर्दै सम्मानजनक व्यवहारको माग गरेका छन्। अतिरिक्त समय र बिदाका दिनसमेत काम गर्नुपर्ने अवस्था रहेको भन्दै उनीहरूले दीर्घकालीन समाधान आवश्यक रहेको बताए।
धरानका प्रफुल्ल भण्डारीले राज्यले आफ्ना माग नसुनेको र न्यायका लागि निरन्तर संघर्ष गर्ने बताए। उनी भन्छन्,‘हामी विद्यालय कर्मचारी, इमानदारी र बफादारीका साथ काम गर्छौं,न्यायका लागि लडिरहन्छौं।’
विद्यालय कर्मचारीहरूले संयुक्त रूपमा जारी गरेको अपिलमा विद्यालय सञ्चालनमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवालालाई उनीहरूको हकहित र भविष्य सुरक्षाका लागि आवाज उठाइदिन आग्रह गरिएको छ।
‘सम्मानित कर्मचारी, समृद्ध विद्यालय’ भन्ने नारासहित कर्मचारीहरूले आफ्नो आन्दोलनलाई निरन्तर अघि बढाउने चेतावनी दिएका छन्। उनीहरूले न्याय नपाएसम्म संघर्ष जारी रहने बताएका छन्।




