लोपोन्मुख जोरायले बासमती धान संरक्षणमा जुटे किसान

हिमाल प्रेस ८ असार २०८३ १२:१५ | Monday, June 22, 2026
24
SHARES
लोपोन्मुख जोरायले बासमती धान संरक्षणमा जुटे किसान

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका-६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर छन्। विभिन्न संघसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस धानको खेतीतर्फ भट्टलगायतका किसान आकर्षित भएका हुन्।

पालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँका किसानहरू यतिबेला धमाधम खेत रोपाइँमा व्यस्त देखिन्छन्। जिल्लाको जोरायल गाउँपालिका-३ र ४ का उपत्यका क्षेत्रमा मात्रै लगाइने यो धान पछिल्लो समय बासमती धान लोप हुने अवस्थामा थियो।

यस धानको चामलको भात पकाउँदा निकै मिठो बास्ना आउने तथा अरु विभिन्न परिकार पनि बनाउन मिल्ने भएकाले यस धानको चामल निकै लोकप्रिय मानिँदै आएको छ। यहाँका स्थानीयवासीले यस प्रदेशभन्दा बाहिर पनि यसको चर्चा पुर्‍याउन र उचित संरक्षण र विस्तारका लागि आग्रह गरेका छन्।

जोरायले बासमती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष दुर्गा ओझाको भनाइ छ। उनको भनाइमा सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बासमती संरक्षणका लागि हामीले पालिकाको बजेटबाट विभिन्न कार्यक्रम पनि अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्नेछौँ।

वैदिककालदेखि नै सुदूरपश्चिमको जोरयालमा मात्रै जोरायले बासमती धानको खेती गर्न थालिएको धान बालीसम्बन्धी जानकारहरू बताउँछन्। यसै धानको नामबाट यस पालिकाको नामकरण भएको बताइएको छ।

पछिल्ला वर्षहरुमा भने जुम्लाको कालीमार्सीको चर्चा बढेजस्तै आफ्नो भेगमा उत्पादन हुने जोरायले पनि लोकप्रियता पाउनेमा विश्वस्त देखिन्छन् किसान। यो धान धेरै गर्मीमा भन्दा पनि कम नै तापक्रममा हुने तथा समथल ठाउँमा मात्रै उत्पादन हुने गर्दछ। जोरायले बासमती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिममा उक्त धानको निकै माग हुने गरेको जोरायल-५ का स्थानीय डम्मर विष्टले जानकारी दिए।

नेपालमा पाइने विभिन्न किसिमका बासमती धानभन्दा फरक खालको यो धान भएकाले यसलाई निकै महत्वका साथ हेरिने गरेको पाइएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए।

उनले भने,‘नेपालमा थुप्रै किसिमका बासमती धान छन्, तर जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धानको आफ्नै महत्व छ, यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकाले पनि यसको महत्व अधिक छ, यसको संरक्षण गर्नु जरुरी भएको छ।’

अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेको भए पनि चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो। मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकहरुको अनुमान रहेको छ।

जोरायले बासमतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हङ्सराज र पालपाली धान समेत लगाउँदै आएका छन्।

प्रकाशित: ८ असार २०८३ १२:१५ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast