दुर्गेश, प्रेमराजा, रामजी र टीका सानु एउटै मञ्चमा

हिमाल प्रेस २६ जेठ २०८३ ११:०१ | Tuesday, June 9, 2026
8
SHARES
दुर्गेश, प्रेमराजा, रामजी र टीका सानु एउटै मञ्चमा

काठमाडौँ- दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीनदिने विशेष सांगीतिक उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरीकी लोकप्रिय गायिका टीका सानुसम्मका दर्जनौँ चर्चित कलाकार एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्।

वार्षिकोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्व समेत वहन गर्दै दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारहरूको हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

कलाकार र कर्मचारीहरूको अथक मेहनतले १८औँ वर्षसम्म आइपुग्न सफल भएको बताउँदै कुँवरले भने, ‘अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबले कमाएको केही हिस्साबाट न्यूनतम ५० हजार रुपैयाँ सडकदेखि संघर्षरत र दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्नेछौँ।’

वार्षिकोत्सवको सांगीतिक मेलामा पहिलो दिन जेठ २९ गते प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ।

दोस्रो दिन रामजी खाँण, प्रीति आले र शान्तरानी परियारले दर्शकलाई नचाउनेछन् भने अन्तिम दिन जेठ ३१ गते, विश्व दोङ र टीका सानुले सांगीतिक माहोल तताउनेछन्।

यो उत्सव तीनै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म चल्नेछ। उत्सवमा दर्शकले सांगीतिक मनोरञ्जनका साथै विशेष छुट र सहुलियतको सुविधा समेत पाउने सञ्चालक कुँवरले जानकारी दिए। विगत १८ वर्षदेखि नेपाली लोकसंगीत र संस्कृतिको संरक्षणसँगै नयाँ प्रतिभा पहिचान र प्रवर्धन गर्ने थलोका रूपमा स्थापित यस क्लबले कैयौँ चर्चित कलाकारहरूलाई व्यावसायिक मञ्च प्रदान गर्दै सांगीतिक क्षेत्रमा बलियो आधारशिला निर्माण गर्दै आएको छ।

प्रकाशित: २६ जेठ २०८३ ११:०१ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast