कृष्णबहादुर महरा : संघर्षले उठायो, विवादैविवादले पछार्‍यो

हिमाल प्रेस ४ असार २०८३ १८:३५ | Thursday, June 18, 2026
16
SHARES
कृष्णबहादुर महरा : संघर्षले उठायो, विवादैविवादले पछार्‍यो

काठमाडौँ- रोल्पाको कक्षाकोठाबाट सुरु भएको कृष्णबहादुर महराको यात्रा भूमिगत राजनीतिक संघर्ष, शान्ति वार्ता, सरकार र संसद्को सर्वोच्च तहसम्म पुग्यो। तर शक्तिको केन्द्रमा रहँदा उनीमाथि लागेका आर्थिक, नैतिक र राजनीतिक विवादहरूले उनको सार्वजनिक छविलाई निरन्तर प्रश्नको घेरामा राखिरहे।

एक समय माओवादी आन्दोलनका प्रभावशाली रणनीतिकार मानिएका महरा अन्ततः स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट विश्राम लिन बाध्य भएका छन्। यससँगै नेपाली राजनीतिमा उत्थान, शक्ति, विवाद र अवसानले भरिएको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्यतिर पुगेको छ।

महराले बिहीबार स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय महराले ‘एट्रोफी’ नामक नसा र मांसपेशी खुम्चिने रोगका कारण सक्रिय राजनीतिबाट विश्राम लिँदै पार्टीको साधारण सदस्य मात्र रहने निर्णय गरेका हुन्।

उनले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘केही वर्षयता म एट्रोफी सम्बन्धी रोगबाट पीडित छु। नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ। यस यथार्थलाई आत्मसात् गर्दै निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु।’

रोल्पामा विज्ञान र गणित विषयको शिक्षण पेसामा रहँदा धेरै युवालाई वामपन्थी राजनीतिमा आकर्षित गरेका उनी पहिलोपटक २०४८ सालमा सांसद बनेका थिए। माओवादी सशस्त्र विद्रोहका क्रममा महरा भूमिगत भएका थिए।

२०६४ पछि आधा दर्जन पटक मन्त्री, सभामुख र पटकपटक उपप्रधानमन्त्री जस्तो शक्तिशाली पदमा पुगेका महराको राजनीतिक यात्रा अवसर र गम्भीर विवादहरूको उतारचढावले भरिएको छ। महराले चौथो महाधिवेशन, मशाल, एकता केन्द्र, हुँदै माओवादी आन्दोलनको विभिन्न चरणमा आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा खर्चिएको भन्दै नयाँ पुस्ताले देशलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

२०६२/६३ को जनआन्दोलनपछि माओवादी खुला राजनीतिमा आएसँगै महराले पार्टीभित्र सधैँ शक्तिशाली र निर्णायक भूमिका पाइरहे। उनी तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री र २०७४ मा संघीय संसद्को सभामुख बन्न सफल भए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सबैभन्दा विश्वासपात्र मानिने महरालाई पार्टीभित्र अन्य आकांक्षीहरूलाई पन्छाएर पटकपटक लाभको पद दिएको आरोप समेत लाग्ने गरेको थियो।

विवादको केन्द्रमा महरा : फ्रिक्वेन्सीदेखि टेपकाण्डसम्म

सधैँ ‘शालीन र शान्त खेलाडी’ का रूपमा चिनिए पनि महराको राजनीतिक जीवन अनेकौँ ठूला र आर्थिक तथा नैतिक विवादहरूबाट कहिल्यै मुक्त हुन सकेन। उनका प्रमुख विवादित प्रसंगहरू यसप्रकार छन् :

क. संसद् सचिवालयकी कर्मचारीमाथि दुर्व्यवहारको आरोप

महराको राजनीतिक ओरालो यात्राको मुख्य कारण २०७६ सालको दसैँको समयमा संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि लागेको दुर्व्यवहार र कुटपिटको आरोप बन्यो। सोही घटनाका कारण उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो, जुन नेपालको संसदीय इतिहासमै पहिलो र लज्जास्पद घटना थियो।

ख. मोबाइल फ्रिक्वेन्सी वितरणमा घोटाला

२०६२/६३ पछि सूचना तथा सञ्चारमन्त्री बन्दा महरामाथि मोबाइल फ्रिक्वेन्सी ‘प्लटिङ’ गरेर कौडीको भाउमा वितरण गरेको आरोप लाग्यो। संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नियमविपरीत र मनोमानी ढंगले ‘नेपाल स्याटेलाइट टेलिकम’ लाई न्यून शुल्कमा लाइसेन्स दिएर राज्यलाई करोडौँ घाटा गराएको ठहर गरेको थियो।

ग. चिनियाँ नागरिकसँग ५० करोडको ‘टेप काण्ड’

२०६७ भदौमा एक चिनियाँ व्यापारीसँग सांसद खरिद गर्नका लागि ५० करोड रुपैयाँ माग गरेको भनिएको अडियो सार्वजनिक भएपछि महरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादमा तानिए। यद्यपि महराले उक्त अडियो झुटो भएको दाबी गर्दै आएका थिए।

घ. लडाकुको भत्ता र बेरुजु प्रकरण

माओवादी सेनाका लडाकुहरूका लागि सरकारले उपलब्ध गराएको करोडौँ रकम आफ्नै नाममा चेकमार्फत बुझेको र सो रकम पारदर्शी ढंगले वितरण नगरेको आरोप महरामाथि लाग्यो। महालेखा परीक्षकको कार्यालयले देखाएको ४६ करोडभन्दा बढीको बेरुजुलाई पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले राजनीतिक निर्णयबाट मिनाहा गरेको थियो।

ङ. अकुत सम्पत्ति छानबिन र ६६ करोड गैरबजेटरी रकमान्तर

२०७३ मा अर्थमन्त्री हुनुअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा १३ पाने फारम भराएर छानबिन गरिरहेकै बेला उनी मन्त्री बने र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको पालामा उनले एकाएक ‘क्लिन चिट’ पाए।

अर्थमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्र रोल्पामा खुद्रे आयोजनाहरू खडा गरी ६६ करोड रुपैयाँभन्दा बढी गैरबजेटरी रकमान्तर गरेपछि उनी पुनः विवादमा परेका थिए।

च. अन्य शङ्कास्पद क्रियाकलाप र उठबस

कर फर्छ्यौट आयोगमार्फत अर्बौँको घोटाला आरोप लागेका सहसचिव चूडामणि शर्मालाई निमित्त सचिव बनाउन महराले मन्त्रालयमा दबाब दिएको र उनीसँग विशेष उठबस रहेको आरोप लागेको थियो।

३३ केजी सुनकाण्डमा नाम जोडिँदा महराले “हामी त भुरा माछा हौँ, ठूला माछा समात्नुपर्छ” भन्दै दिएको अभिव्यक्ति निकै चर्चित बन्यो। यसबाहेक, पार्टीलाई जानकारी नदिई चीन, सिंगापुर र मलेसियाका शंकास्पद भ्रमणहरू गरेको आरोप पनि उनीमाथि लाग्दै आयो।

शिक्षण पेसाबाट क्रान्तिको यात्रा तय गर्दै राज्यको सर्वोच्च ओहोदासम्म पुगेका कृष्णबहादुर महरा राजनीतिक सन्तुलन मिलाउन खप्पिस नेता मानिन्थे। तर शक्तिको उन्माद र शृंखलाबद्ध विवादका कारण उनको उत्तरार्धको राजनीतिक छवि धमिलिन पुग्यो। अन्ततः स्वास्थ्यको बाध्यात्मक परिस्थितिका कारण उनी ४८ वर्षे सक्रिय राजनीतिक यात्राबाट विश्राम लिन बाध्य भएका छन्।

प्रकाशित: ४ असार २०८३ १८:३५ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast