विश्वकप : समूह आई

एमबाप्पेको फ्रान्सलाई हलान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती

हिमाल प्रेस २७ जेठ २०८३ १५:०१ | Wednesday, June 10, 2026
8
SHARES
एमबाप्पेको फ्रान्सलाई हलान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती

काठमाडौँ- फ्रान्सले न्युजर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ। सन् २००२ मा साविक विजेताका रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स सोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो, जुन नतिजाको खुसीले डाकारका सडकलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो।

सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्स यसपालि तेस्रो उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको छ। प्रतियोगिताका थुप्रै दाबेदारमध्ये फ्रान्स पनि सम्भावित च्याम्पियनको सुचीमा पर्ने टिम हो।

किलियन एमबाप्पेको प्रेरणा रहने टिममा ह्युगो इकिटिके, औसमान डेम्बेले र माइकल ओलिसेजस्ता खेलाडीको उपस्थितिले फ्रान्सलाई प्रतियोगिताको मुख्य दाबेदारमध्ये एकका रुपमा उभ्याएको छ। जुनअघि नै खेलिएका मैत्रीपूर्ण खेलमा ब्राजिललाई २–१ तथा कोलम्बियालाई ३–१ को नतिजामा हराएर पनि फ्रान्सले विश्वकपका प्रतिद्वन्द्वीहरुलाई बेलैमा सन्देश दिइसकेको छ। तर जुनको सुरुआतमा आइभोरी कोष्टसँग २–१ ले पराजित भएको नतिजाले भने फ्रान्सको टिममा समस्या पनि रहेको देखाउँछ।

फ्रान्सका प्रशक्षिक डिडियर डेसच्याम्पस अमेरिकामा गरिएको टिमको आवागमन तथा प्रशिक्षणलगायतका अन्य व्यवस्थापनसँग त्यति सन्तुष्ट छैनन्। अमेरिकाको कडा सुरक्षा जाँच, नर्वेविरुद्धको खेल हुने मासाचुसेट्सको फक्सबोरोको बाक्लो ट्राफिकलगायतका विषयले डेशच्याम्पसको टाउको दुखाइरहेको छ।

‘यहाँको ट्राफिक निक्कै डरलाग्दो छ। रंगशाला पुग्न नै सवा घन्टाभन्दा बढी लाग्ने अवस्था छ। त्यसले खेलाडीलाई अप्ठेरो पार्छ,’ मार्चमा ब्राजिलसँग मासाचुसेट्समा मैत्रीपूर्ण खेल्दाको स्मरण सुनाउँदै डेशच्याम्पसले विश्वकपको दौरान ति समस्यामा सुधार हुनुपर्ने माग राखेका छन्।

सन् २०१२ देखि निरन्तर फ्रान्सेली टोलीको नेतृत्वमा रहेका डेशच्याम्पसले यो विश्वकप टोलीसँग आफ्नो अन्तिम प्रतियोगिता हुने संकेत गरेका छन्। उनले केही अन्तरवार्ताहरुमा विश्वकपपछि राजीनामा गर्ने विचारमा रहेको बताएका छन्।

फ्रान्स

यसपालि उपाधि जित्नसके फ्रान्स विश्वकप इतिहासमा ३ वा त्योभन्दा बढी पटक विश्व च्याम्पियन बन्ने पाँचौं टिम हुनेछ। विश्वकप इतिहासमा ब्राजिल पाँच उपाधिका साथ सबभन्दा माथि छ भने जर्मनी र इटालीले समान चारपटक उपाधि जितेका छन्। अर्जेन्टिनाको नाममा तीन उपाधि छ।

एमबाप्पेले चार वर्षअघि कतारमा भएको विश्वकप २०२२ मा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हर्स्टपछि विश्वकप इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न एमबाप्पे सफल भएका थिए। दोहामा एमबाप्पेले कुल ८ गोल गरेका थिए। फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

२७ वर्षको जोशिलो उमेर र करियरको उच्च फर्ममा रहेका एमबाप्पेले फ्रान्सको राष्ट्रिय टोलीका लागि ५६ गोल गरिसकेका छन्। फ्रान्सेली फुटबलमा उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको दौडमा एमबाप्पे ओलिभर जिरौडभन्दा १ गोलले मात्र पछि छन्।

सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपको उपाधि जितेपछि फ्रान्स २०२१ को युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पराजित भएको थियो।

विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना तथा युरो २०२४ को सेमिफाइनलमा फ्रान्स स्पेनसँग निराश भएको थियो। यसपाली ति सबै निराशा मेटाउँदै डेशच्याम्पसलाई विदाई उपहार दिने फ्रान्स टिमको योजना छ।

टिम फ्रान्स

गोलकिपरः माइक माइग्नान (एसी मिलान), रोबिन रिसेर (लेन्स), ब्रिस साम्बा (रेनेस)

रक्षकः लुकास डिग्ने (एस्टन भिल्ला), मालो गुस्टो (चेल्सी), लुकास हर्नान्डेज (पेरिस सेन्ट जर्मेन), थियो हर्नान्डेज (अल हिलाल), इब्राहिमा कोनाटे (लिभरपुल), जुल्स कौन्डे (बार्सिलोना), म्याक्सेन्स ल्याक्रोइक्स (क्रिस्टल प्यालेस), लिलियम सालिबा (आर्सनल), डायुट उपामेकानो (बायर्न म्युनिख)

मिडफिल्डरः एनगोलो कान्टे (फेनेरबाचे), मानु कोने (एएस रोमा), एड्रियन र्याबिओट (एसी मिलान), औरेलिन टिचौमेनी (रियाल मड्रिड), वारेन जाइरे इमेरी (पेरिस सेन्ट जर्मेन)

फरवार्डः माघ्नेस एक्लिउचे (मोनाको), ब्राड्ली बार्कोला (पेरिस सेन्ट जर्मेन), रायन चेर्की (म्यानचेस्टर सिटी), औसमान डेम्बेले (पेरिस सेन्ट जर्मेन), डिजायर डोउइ (पेरिस सेन्ट जर्मेन), जिन फिलिप माटेटा (क्रिस्टल प्यालेस), किलियन एमबाप्पे (रियाल मड्रिड), माइकल ओलिसे (बायर्न म्युनिख), मार्कुस थुराम (इन्टर मिलान)

प्रशिक्षकः डिडियर डेशच्याम्पस

नर्वे

विश्वकपमा नर्वेको यो मात्र चौथो सहभागिता हो। सन् १९९८ यता नर्वे विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा फर्किएको यो पहिलो पटक हो। यसपालि नर्वेको टोली विश्वकै सर्वोत्कृष्ट मानिएका २५ वर्षे स्ट्राइकर इर्लिङ हालान्डको नेतृत्वमा हुनेछ।

इङ्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका हालान्डको स्कोरिङ फर्म पछिल्ला वर्षहरुमा एकरुपले उच्च छ। पछिल्ला चार सिजनदेखि उनले लगातार सिटीका लागि सर्वाधिक ३० गोल गरिसकेका छन्। नर्वेका लागि उनले ४९ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

युरोपेली छनोट प्रतियोगितामा पनि हालान्डकै प्रेरणामा नर्वेले सफलता प्राप्त गर्दै अमेरिकाको टिकट काटेको थियो। ‘नर्वेलाई विश्वकपमा पुर्‍याउनु हामी सबैको लागि ठूलो जिम्मेवारी थियो। त्यसलाई सफलतासाथ पूरा गरेका छौँ,’ हालान्ड भन्छन्, ‘अब विश्वकपमा पनि सफल नतिजाको ठूलो जिम्मेवारी छ। त्यसलाई पनि पूरा गर्नुछ।’

हालान्ड र नर्वेका लागि आसन्न विश्वकपमा अर्को एउटा ठूलो संयोग पनि जुरेको छ। उनका पिता एल्फीले सन् १९९४ मा अमेरिकामै सम्पन्न विश्वकपमा नर्वेको टिमबाट खेलेका थिए।

उत्तर अमेरिकी विश्वकपमा हालान्डसँगै ३० वर्षे एलेक्जेन्डर सोर्लोथ अर्का भरपर्दा स्कोरर हुन्। सँगै मिडफिल्डर मार्टिन ओडेगार्ड, जसले कप्तानका रुपमा टिमको नेतृत्व गर्नेछन्, बाट पनि नर्वेले प्रभावशाली प्रदर्शनको आशा राख्नेछ। तर उनी घुँडा र पाखुराको चोटका कारण वितेको सिजनमा मैदानमा अपेक्षित रुपमा जम्न सकेका थिएनन्।

युरोपियन च्याम्पियनसिप २००० पछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो नर्वेको पहिलो उपस्थिति हुनेछ। युरो २००० मा नर्वे समूह चरणबाटै बाहिरिएको थियो।

टिम नर्वे

गोलकिपरः ओर्जान हास्कजोल्ड नाइल्यान्ड (सेभिया), इजिल सेल्भिक (वाट्फोर्ड), सान्डर टाङ्भिक (ह्यामबर्गर)

रक्षकः जुलियन रियर्सन (बोरुसिया डर्टमण्ड), मार्कुस होल्मग्रेन पेडेर्सेन (टोरिनो), डेविड मोलर उल्फी (उल्भस), फ्रेड्रिक जोर्कान (बोडो÷ग्लिम्ट), क्रिस्टोफर एजेर (ब्रेन्टफोर्ड), टोर्बजर्न हेजेम (बोलोग्ना), लियो स्किरी ओस्टिगार्ड (जिनुवा), सोन्ड्रे लान्गास (डर्बी), हेनरिक फाल्चेनेर (भाइकिङ)

मिड्फिल्डरः मार्टिन ओडेगार्ड (आर्सनल), सान्डेर बेर्गे (फुलह्याम), फ्रेड्रिक औस्नेस (बेन्फिका), प्याट्रिक बर्ग (बोडो÷ग्लिम्ट), क्रिस्टियन थोर्सभेड्ट (सासौलो), मोर्टेन थोर्सबाई (क्रेमोनेसे), थियो आसगार्ड (रेन्जर्स)

फरवार्डः इर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), एलेक्जेन्डर सोर्लोथ (एट्लेटिको मड्रिड), जोर्गेन स्ट्रान्ड लार्सेन (क्रिस्टल प्यालेस), एन्टोनियो नुसा (आरबी लाइपजिग), ओस्कार बब (फुलह्याम), एन्ड्रेस जेलडेरुप (बेन्फिका), जिन्स पिटर हग ((बोडो/ग्लिम्ट)

प्रशिक्षकः स्टेल सोलबाकेन

सेनेगल

लगातार तेस्रो पटक विश्वकप खेल्न लागेको सेनेगल अफ्रिका कप अफ नेशन्समा हालै मोरक्कोमा भएको विश्व फुटबलकै ठूलामध्येको एक विवादले घेरिएको छ।

गत जनवरीमा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक मोरक्कोलाई हराएर उपाधि जिते पनि खेलको अन्त्यतिर टिमले देखाएको व्यवहारका कारण सेनेगलले अफ्रिका कप अफ नेशन्सको उपाधि मोरक्कोलाई सुम्पनु परेको थियो। रेफ्रीको निर्णयमाथि असहमति जनाउँदै सेनेगलका खेलाडीले मैदान छोडेका कारण अनुशासनको कारबाहीस्वरुप अफ्रिकी फुटबल महासंघले उपाधि सेनेगलसँग खोसेर मोरक्कोलाई दिएको थियो।

मोरक्कोलाई पेनाल्टी दिने रेफ्रीको निर्णयमा असहमति जनाउने क्रममा प्रशिक्षक पेपे थियाउको निर्देशनमा सबै खेलाडीले मैदान छोड्दा १५ मिनेटसम्म खेल अवरुद्ध भएको थियो। त्यही कारण सेनेगलको उपाधि खोसिए पनि टोलीले उक्त निर्णयविरुद्ध अपिल गरेको छ।

सन् २००२ को विश्वकपको पहिलो खेलमै साविक विजेता फ्रान्सलाई हराएर विश्वभर तहल्का मच्चाएको अफ्रिकी महारथी सेनेगल सन् २०२१ मा पनि अफ्रिका कप अफ नेशन्समा च्याम्पियन भएको थियो। त्यतिबेला गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा इजिप्टलाई हराउँदै सेनेगलले उपाधि उचालेको थियो। हाल ३४ वर्षमा पुगेका साडियो मानेले निर्णायक पेनाल्टीमा गोल गर्दै सेनेगललाई उपाधि जिताएका थिए।

सेनेगल फुटबलका सर्वकालीन उच्च अन्तर्राष्ट्रिय गोलकर्ता मानेको नाममा ५५ अन्तर्राष्ट्रिय गोल छन्। विश्वकपको अफ्रिकी छनोट प्रतियोगितामा पनि उनले टिमका लागि सर्वाधिक ५ गोल गरेका थिए।

सेनेगलको टोली अमेरिकामा अर्को सनसनीको खोजीमा रहँदा मानेसँगै गोलकिपर इडुवार्ड मेन्डी, मिड्फिल्डर इद्रिसा गुइये र रक्षक कालिडो कौलिबालीबाट उच्च प्रदर्शनको अपेक्षामा हुनेछ। किनकि सेनेगललाई आफूले जितेर पनि अफ्रिका कप अफ नेशन्सको उपाधि खोसिँदा लागेको चोटमा अमेरिकाबाट मल्हम लगाउनुछ। त्यसका लागि टोली विश्वकपमा कम्तिमा पनि अरु अफ्रिकी टोलीको भन्दा राम्रो नतिजा ल्याउन चाहन्छ।

टिम सेनेगल

गोलकिपरः इडुवार्ड मेन्डी (अल आहली), मोरी डिउ (ले हार्भे एसी), येहभान डिउफ (निस)

रक्षकः क्रेपिन डियाटा (मोनाको), एन्टोनी मेन्डी (निस), कालिडोउ कौलिबाली (अल हिलाल), इल हाड्जी मालिक डिउफ (वेस्ट ह्याम), मामाडोउ सार (चेल्सी), मौसा नियाखाटे (लियोन), मौस्टाफा एमबो (पेरिस एफसी), अब्दुल्लाये सिक (मकाबी हाइफा), इस्माइल ज्याकोबस (गालाटासरे), इले क्यामरा (एन्डरलेक)

मिडफिल्डरः इद्रिसा गाना गुइये (एभर्टन), पेपे गुइये (भियारियाल), लामिन क्यामरा (मोनाको), हबिब डियारा (सन्डरल्यान्ड), पाथ सिस (रायो भायेकानो), पेपे माटर सार (टोटनहम), बारा सापोको एनडियाये (बायर्न म्युनिख)

फरवार्डः साडियो माने (अल नासर), इस्माइला सार (क्रिस्टल प्यालेस), इलिमान एनडियाये (एभर्टन), असाने डियाओ (कोमो), इब्राहिम एमबाये (पेरिस सेन्ट जर्मेन), निकोलस ज्याक्सन (चेल्सी), बाम्बा डिइङ (लोरियन्ट), चेरिफ एनडियाये (सामसनस्पर)
प्रशिक्षकः पेपे थियाउ

इराक

एसियाली फुटबलमा आफ्नै खालको रवाफ रहे पनि विश्वकपमा भने इराकको इतिहास त्यति गर्व गर्न लायक छैन। टोली सन् १९८६ यता पहिलोपटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिएको हो।

विश्वकपमा ४० वर्षको अनुपस्थिति पुर्नका लागि इराकले अन्तर महादेशीय प्लेअफमा बोलिभियालाई पराजित गरेको थियो। मोन्टेरीमा ३० वर्षे स्ट्राइकर एइमिन हुसेन र अली अल हमादीले गोल गरेपछि बोलिभियालाई २¬–१ को नतिजामा हराउँदै इराके ४८ औं टिमका रुपमा विश्वकप २०२६ लाई छानिएको थियो।

१९८६ को मेक्सिको विश्वकपमा इराक समूह चरणमा आयोजक मेक्सिको, बेल्जियम र पाराग्वेविरुद्धका तीनवटै खेलमा पराजित हुँदै घर फर्किएको थियो।

आफ्नै देश अस्ट्रेलियालाई दुई फरक कार्यकाल प्रशिक्षकको रुपमा नेतृत्व प्रदान गरेका ग्राहम आर्नोल्ड इराकको प्रशिक्षक हुन्। उनको काँधमा ४० वर्षअघि ३ मा ३ खेल हारेको इराकलाई कम्तिमा १ खेल जिताउने जिम्मेवारी हुनेछ। त्यसका लागि उनलाई एइमिन हुसेन, मोहनाद अली र मिड्फिल्डर मिर अल अम्मारीको साथ हुनेछ।

टिम इराक

गोलकिपरः फाहद तालिब (अल तालाबा), जलाल हसन (अल जावरा), अहमद बसिल (अल शोर्टा)

रक्षकः हुसेन अली (पोगोन एसजेजेसिन), मानफ युनिस (अल शोर्टा), हअमद याहया (अल शोर्टा), मुस्तफा साडून (अल शोर्टा), जाइद ताहसिन (पाख्ताकोर), रुबिन सुलाका (पोर्ट), हकम हासिम (अल जावरा), मेर्चास डोस्की (भिक्टोरिया प्लाजेन), जाइद इस्माइल (अल तालाबा), फ्रान्स पुट्रोस (पेर्सिब)

मिडफिल्डरः अमिर अल अमारी (क्राकोभिया), केभिन याकुब (आर्हुस जिएफ), जिदान इकबाल (युट्रिचेट), एइमार शेर (सार्पस्बर्ग), इब्राहिम बायास (अल धाफ्रा), अहमद कसिम (नासभिल एससी), युसुफ एमिन (एइके लर्नाका), मार्को फार्जी (भेनेजिया)

फरवार्डः अली जसिम (अल नाज्मा), अली अल हमादी (इप्सविच), अली युसेफ (अल तालाबा), एइमेन हुसेन (अल कार्मा), मोहम्मद अली (दिब्बा)

प्रशिक्षकः ग्राहम आर्नोल्ड

समूह ‘आई’ खेलतालिका (नेपाली समयअनुसार)

– फ्रान्स विरुद्ध सेनेगल, १७ जुन, बिहान ००ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)

– इराक विरुद्ध नर्वे, १७ जुन, बिहान ०३ः४५, जिलेट रंगशाला (बोस्टन)

– फ्रान्स विरुद्ध इराक, २३ जुन, बिहान ०२ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)

– नर्वे विरुद्ध सेनेगल, २३ जुन, बिहान ०५ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)

– नर्वे विरुद्ध फ्रान्स, २७ जुन, बिहान ००ः४५ बजे, जिलेट रंगशाला (बोस्टन)

– सेनेगल विरुद्ध इराक, २७ जुन, बिहान ००ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)

प्रकाशित: २७ जेठ २०८३ १५:०१ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast