विश्वकपमा प्रविधि : सेन्सरयुक्त बलदेखि रोबोट कुकुरसम्म

हिमाल प्रेस १८ असार २०८३ १६:०१ | Thursday, July 2, 2026
14
SHARES
विश्वकपमा प्रविधि : सेन्सरयुक्त बलदेखि रोबोट कुकुरसम्म

काठमाडौँ– विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव उत्कृष्ट खेलाडीहरूको प्रतिस्पर्धामा सीमित छैन। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ ले फुटबललाई प्रविधिको नयाँ युगमा प्रवेश गराएको छ। सेन्सर जडित म्याच बल, कृत्रिम बुद्धिमत्ताले तयार गर्ने खेलाडीका थ्रीडी अवतार, रेफ्रीको शरीरमा जडान हुने क्यामेरा, रोबोट कुकुरद्वारा सुरक्षा निगरानी यस विश्वकपमा भित्रिएका नयाँ प्रविधि हुन्।

यसपटक विश्वकपमा प्रयोग भएका नयाँ प्रविधिले खेलको गति, निर्णयको पारदर्शिता, सुरक्षा र दर्शकको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्ने अपेक्षा गरिएको छ। यही कारण विश्वकप २०२६ नयाँ च्याम्पियन खोज्ने प्रतियोगिता मात्र होइन, भविष्यको फुटबल कस्तो हुनेछ भन्ने झलक प्रस्तुत गर्ने विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रदर्शनस्थल बनेको छ।

सेन्सर बोल्ने म्याच बल

विश्वकप २०२६ को आधिकारिक म्याच बल ‘ट्रियोन्डा’ हो। स्पेनिस भाषामा यसको अर्थ ‘तीन छाल’ हुन्छ। तर यसको विशेषता नाममा होइन, भित्र जडान गरिएको अत्याधुनिक सेन्सर प्रविधिमा छ। एडिडासले निर्माण गरेको यस बलभित्र इनर्सियल मेजरमेन्ट युनिट सेन्सर चिप राखिएको छ, जसले प्रतिक्षण पाँच सय पटक बलको गति, दिशा र थ्रीडी गतिविधिको तथ्यांक संकलन गर्छ।

फिफाका अनुसार यो तथ्यांक तत्कालै भिडियो सहायक रेफ्री (भीएआर) प्रणालीमा पुग्छ, जसले अफसाइड निर्णयलाई अझ छिटो र सटीक बनाउन सहयोग पुर्‍याउँछ। फिफाका अनुसन्धान तथा मापदण्ड प्रमुख निकोलस इभान्सका शब्दमा’यो सेन्सरले बलले के गरिरहेको छ भन्ने जानकारी दिन्छ।’

एआईले बनाउने खेलाडीको थ्रीडी अवतार

यस विश्वकपमा प्रत्येक खेलाडीको शरीर डिजिटल रूपमा स्क्यान गरिएको छ। फिफा र विश्वकै अग्रणी कम्प्युटर निर्माता लेनोभोको सहकार्यमा विकसित प्रणालीले करिब एक सेकेन्डमै खेलाडीको अत्यन्तै सटीक थ्रीडी मोडल तयार गरेका छन्।

शरीरका प्रत्येक भागको सूक्ष्म मापन गर्ने यो प्रणालीले खेलाडी तीव्र गतिमा दौडिरहेको वा अरू खेलाडीबीच छेकिएको अवस्थामा पनि उसको गतिविधि सही रूपमा ट्र्याक गर्न सक्नेछ। यी थ्रीडी मोडलहरू रेफ्रीको निर्णयका लागि मात्र होइन, प्रत्यक्ष प्रसारणमा पनि प्रयोग भएका छन्। यसले भीएआरबाट आएको अफसाइड निर्णयलाई दर्शकले अझ स्पष्ट, यथार्थपरक र आकर्षक रूपमा हेर्न सक्नेछन्।

रेफ्रीको आँखाबाट खेल हेर्ने अवसर

विश्वकपका सबै १०४ खेलमा यसपटक रेफ्री बडी क्यामेरा प्रयोग गरिएको छ। यसअघि केही युरोपेली लिगमा परीक्षण भइसकेको यो प्रविधिले दर्शकलाई रेफ्रीले मैदानमा देख्ने दृश्य प्रत्यक्ष रूपमा अनुभव गराएको छ। मैदानभित्रको निर्णय प्रक्रिया र खेलको वास्तविक गति बुझ्न यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

सुरक्षामा रोबोट कुकुरको प्रवेश

विश्वकपका खेल मैदानमा खेलाडी र सुरक्षाकर्मी मात्र देखिएका छैनन्। मेक्सिकोले प्रतियोगिताको सुरक्षा व्यवस्थामा चार खुट्टे रोबोट कुकुर परिचालन गरेको छ। जोखिमपूर्ण क्षेत्रमा सबैभन्दा पहिले प्रवेश गर्ने यी रोबोटले प्रत्यक्ष भिडियो सुरक्षाकर्मीलाई पठाउँछन्। त्यसपछि अवस्था सुरक्षित देखिएपछि मात्र प्रहरी टोलीले आवश्यक कदम चाल्नेछ।

मोन्टेरे महानगर क्षेत्रअन्तर्गत ग्वाडालुपे नगरपालिकाले करिब २५ लाख मेक्सिकन पेसो खर्चेर खरिद गरेका यी रोबोटहरू कुनै झडप वा सुरक्षा चुनौती देखिएमा तत्काल परिचालन गरिनेछ। स्थानीय अधिकारीहरूका अनुसार यसको मुख्य उद्देश्य प्रहरीको ज्यान जोखिममा नपरोस् भन्ने सुनिश्चित गर्नु हो।

अफसाइडको निर्णय अब अझ छिटो

विश्वकप २०२६ मा लागू हुने उन्नत अर्ध-स्वचालित अफसाइड प्रणालीले अफसाइड निर्णयलाई नयाँ स्तरमा पुर्‍याइरहेको छ। यसअघि खेलाडी कम्तीमा ५० सेन्टिमिटर अफसाइड हुँदा मात्र प्रणालीले संकेत दिने गर्थ्यो। अब भने १० सेन्टिमिटरभन्दा बढी अफसाइड भए पनि रेफ्रीको इयरपिसमा तत्काल अडियो सन्देश पुग्नेछ।

यद्यपि यसले खेलाडीले खेलमा हस्तक्षेप गरेको थियो वा थिएन भन्ने जस्ता विषयगत निर्णय गर्न सक्दैन। साथै खेलाडीहरू एकअर्कासँग अत्यधिक नजिक हुँदा यसको क्षमता सीमित रहन सक्छ।

हरेक खेलमा अनिवार्य विश्राम

यसपटक विश्वकपमा अर्को नयाँ व्यवस्था पनि लागू भएको छ। मौसम जस्तोसुकै भए पनि प्रत्येक खेलको दुवै हाफमा तीन मिनेटको अनिवार्य ‘हाइड्रेसन’ विश्राम हुन थालेका छन्। सामान्यतः प्रत्येक हाफको करिब २२औँ मिनेटमा खेल रोकिएर खेलाडीलाई पानी पिउने र शारीरिक अवस्था सामान्य बनाउने अवसर दिइँदै आएको छ।

फिफाका अधिकारी मनोलो जुबिरियाका अनुसार त्यही समयमा कुनै खेलाडी घाइते भएर खेल रोकिएको छ भने रेफ्रीले तत्कालीन अवस्थाअनुसार समय व्यवस्थापन गर्दै आएका छन्।

निगरानीको घेरामा पनि सबैभन्दा धेरै

फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी सुरक्षा निगरानी गरिएको विश्वकप पनि बन्न पुगेको छ। विश्वकपको सुरक्षा व्यवस्थाका लागि अमेरिकी सरकारले एक अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको छ। यो बजेट सार्वजनिक यातायात केन्द्र, रंगशाला र वरपरका क्षेत्रको सुरक्षा, बम निष्क्रिय पार्ने टोली, विशेष हतियार तथा रणनीतिक टोलीको क्षमता विस्तार तथा नयाँ सुरक्षा उपकरण खरिद र स्तरोन्नतिमा खर्च गरिएको हो। यसबाट निजी सुरक्षा तथा प्रविधि कम्पनीहरूले पनि ठूलो आर्थिक लाभ उठाएका छन्।

यस निगरानी प्रणालीमा गरिएको ठूलो लगानीको औचित्य अनधिकृत ड्रोनको सम्भावित जोखिम रोक्ने उद्देश्यसँग जोडिएको छ। यद्यपि यही सुरक्षा आवश्यकताका नाममा सरकार र निजी क्षेत्रबीच निगरानी प्रविधिको विकास तथा विस्तार तीव्र बनेको छ, जसले व्यक्तिगत गोपनीयतामाथि नयाँ चुनौती सिर्जना गरेको छ।

क्यामेरा, ड्रोन र कृत्रिम बुद्धिमत्ताको जालो

विश्वकप अवधिमा अपनाइएको व्यापक निगरानी र अमेरिकाको अध्यागमन तथा कानुनी नीतिमा भएका परिवर्तनका कारण एम्नेस्टी इन्टरनेसनल, अमेरिकन सिभिल लिबर्टिज युनियनलगायत १२० भन्दा बढी नागरिक समाज संस्थाले संयुक्त रूपमा यात्रा सचेतना जारी गरेका छन्।

उनीहरूले अमेरिकाको यात्रा गर्ने व्यक्तिहरूले सामाजिक सञ्जालको गहिरो निगरानी, विद्युतीय उपकरणको जाँच, जातीय प्रोफाइलिङ, पक्राउ, हिरासत, देश निकाला र चरम अवस्थामा ज्यान गुमाउने जोखिमसमेत व्यहोर्न सक्ने चेतावनी दिएका छन्। केही युरोपेली देशहरूले पनि आफ्ना नागरिकलाई निगरानी र प्रोफाइलिङको जोखिमबारे सचेत गराएका छन्।

ड्रोन : आकाशबाट हुने निगरानी

विश्वकप सुरक्षाका लागि उपलब्ध संघीय बजेट प्रयोग गर्दै न्युयोर्कलगायत धेरै अमेरिकी राज्यहरूले प्रहरीद्वारा प्रयोग हुने ड्रोनको संख्या, क्षमता र प्रयोग विस्तार गरेका छन्।

ड्रोन अहिले अत्यन्त शक्तिशाली निगरानी उपकरणका रूपमा विकसित भएका छन्। तिनमा उच्च क्षमताका क्यामेरा, माइक्रोफोन, अत्याधुनिक सेन्सर र आवश्यक परे अन्य उपकरणसमेत जडान गर्न सकिन्छ।

कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित सफ्टवेयर प्रयोग गर्ने ड्रोनले विशाल क्षेत्रको निगरानी गर्न, मानिसको गतिविधि पछ्याउन र सुरक्षा सूचनाहरू सङ्कलन गर्न सक्छन्।

केही शक्तिशाली ड्रोनले पूरै सहर स्क्यान गर्न सक्छन् भने करिब ६० हजार फिट (१८ हजार २८८ मिटर) माथिबाट दूधको प्याकेटमा लेखिएको अक्षरसम्म पढ्न सक्ने क्षमता राख्छन्।

यस्ता ड्रोनमा मोबाइल टावरजस्तै काम गर्ने प्रविधि पनि जडान गर्न सकिन्छ, जसले व्यक्तिको स्थान पत्ता लगाउने, टेक्स्ट सन्देश तथा फोन कलसमेत अवरोध गर्न सक्ने क्षमता दिन्छ। यसले भविष्यमा सहरभर फैलिएको ड्रोन निगरानी प्रणाली सामान्य अभ्यास बन्न सक्ने संकेत दिएको छ।

जमिनमा पनि उत्तिकै कडा निगरानी

आकाशमा मात्र होइन, जमिनमा पनि निगरानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको छ। डलास र न्यू जर्सीमा क्यामेरा जडित रोबोट कुकुर परिचालन गरिएका छन्। उता सिएटलका मेयरले जैविक गोपनीयताको चिन्ताका कारण यसअघि बन्द गरिएको सीसीटीभी प्रणाली पुनः सञ्चालन गर्नुका साथै यसको विस्तार गर्ने निर्णय गरेका छन्।

सीएटल प्रशासनले संकलित तथ्यांकको सुरक्षा सुनिश्चित गर्ने नीति बनाइरहेको जनाएको भए पनि संघीय विश्वकप सुरक्षा बजेटको सहयोगमा धेरै राज्य र सहरहरूले तीव्र गतिमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) प्रणाली विस्तार गरिरहेका छन्।

प्रकाशित: १८ असार २०८३ १६:०१ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast