काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आइताबर चितवनमा सुरु भएको छ। पार्टीको उद्गमस्थल चितवनमा रास्वपाले पहिलो प्रथम महाधिवेशन गरेको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले रास्वपाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधिहरू चितवन पुगिसकेका छन्।
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। रास्वपाका सभापति रवि लामिछाने, महामन्त्रीरू कविन्द्र बुर्लाकोटी र भुपदेव शाहलगायतका नेताहरू शनिबार नै चितवन पुगेका थिए।
यसका साथै उद्घाटन सत्रमा शुभकामना दिन आमन्त्रित अन्य दलका नेताहरू पनि चितवनको भरतपुर पुगेका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू भतरपुर पुगेका छन्।




