किन काठमाडौँ आएनन् भारतीय विदेश सचिव मिसरी?

हिमाल प्रेस २६ वैशाख २०८३ १६:०९ | Saturday, May 9, 2026
22
SHARES
किन काठमाडौँ आएनन् भारतीय विदेश सचिव मिसरी? फाइल तस्बिर

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिसरीको नेपाल भ्रमण स्थगित भएको छ। सोमबारदेखि हुने भनिएको मिसरीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको हो।

परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय दूतावास स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एनआईले विदेश सचिव मिसरीको भ्रमण स्थगित भएको जनाएको छ।

‘विदेश सचिवको सोमबार काठमाडौँ अवतरण गर्ने तयारी थियो। तर अप्रत्याशित रूपमा भ्रमण स्थगित भयो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। मिसरीको भ्रमण स्थगित भएको विषयमा भारतीय पक्षले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो।

‘भ्रमण स्थगित भएको बारे भारतीय पक्षबाट सूचना दिइएको थियो। यसका लागि कुनै आधिकारिक कारण बताइएको छैन,’ परराष्ट्र अधिकारीले भनेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचन सम्पन्न भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि भारतले विदेश सचिव मिसरीलाई काठमाडौँ पठाउने तयारी गरेको थियो।

प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि बालेनलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिने तयारीका साथ भारतीय सचिव नेपाल भ्रमणमा आउने तयारी गरे पनि नेपालले गम्भीरताका साथ नलिएको भारतको आरोप छ। ‘प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको औपचारिक निम्नो दिने तयारीका साथ भारतीय विदेश सचिव यहाँ आउन लाग्नु भएको थियो। तर प्रधानमन्त्री कार्यालयले छलफलका लागि चासो  देखाएन,’ भारतीय दूतावास स्रोतलाई उद्धृत गर्दै एनआईले भनेको छ।

चुनावमा रास्वपाले भारती जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर प्रधानमन्त्री बालेनलाई बधाई दिएका थिए। सरकार गठनपछि परराष्ट्र सचिव अमृत राईले भारतीय विदेश सचिव मिसरीलाई नेपाल भ्रमणका लागि निम्तो पठाएका थिए। द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने र दुई देशबीचका बहुआयामिक सम्बन्धका विभिन्न पक्षबारे छलफल गर्ने योजनाका साथ मिसरीलाई काठमाडौँ भ्रमणको निम्तो पठाइएको थियो।

तर, प्रधानमन्त्रीसहित उच्चस्तरीय बैठकहरू सम्भव नहुने स्पष्ट भएपछि मिसरीको भ्रमण रोकिएको बताइएको छ। लिपुलेकबारे नेपाल र भारतले आआफ्नो दाबी प्रस्तुति गरिरहेको बेला भारतीय विदेश सचिव मिसरीको भ्रमण स्थगित भएको हो।

लिपुलेक क्षेत्र हुँदै कैलाश मानसरोबर यात्रा सुरू गर्न भारत र चीनबीच समझदारी बनेपछि नेपालले विरोध जनाएको छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूभाग रहेको भन्दै भारतले सुरू गर्न लागेको कैलाश मानसरोवरयात्राप्रति आपत्ति जनाएको हो।

भारतले भने लिपुलेक आफ्नो भूभाग रहेको दाबी गर्दै आइरहेको छ। हालसालै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेकबारे नेपालले गरिरहेको एकतर्फी ठीक नभएको बताएका थिए।

‘लिपुलेक क्षेत्र आफ्नो भूमि रहेको भनेर नेपालले एकतर्फी दाबी गर्नु ठीक होइन,’ उनले भनेका थिए,‘हामीले स्पष्ट पारिसकेका छौँ–नेपालले गरिरहेको दाबी ठीक होइन, १९५४ देखि कैलाश मानसरोबर यात्रा चल्दै आइरहेको छ। अन्य विषयमा हामी नेपालसँग संवाद गर्न तयार छौँ।’

लिपुलेक क्षेत्रमा भारतले निर्माण गरेको बाटो हुँदै व्यापार गर्ने भारत र चीनको सम्झौता छ। लिपुलेकसम्बन्धी विवाद चलिरहेकै बेला भारतीय विदेश सचिवको तय काठमाडौँ भ्रमण एक्कासी स्थगित भएपछि दुई देशबीचको सम्बन्ध खटपट हुनसक्ने कूटनीतिका जानकारहरूको भनाइ छ। लिपुलेक सीमा विवादका कारण भारतीय विदेश सचिवको भ्रमण स्थगित भएको हुनसक्ने अनुमान उनीहरूले गरेका छन्।

तर, परराष्ट्र मन्त्रालयले भने मिसरीको भ्रमण रद्द र सीमा विवादबीच कुनै सम्बन्ध नरहेको दाबी गरेको छ।

‘नेपाल र भारतको अत्यन्त निकट सम्बन्ध छ। एउटा मुद्दाले दुई देशबीचका अन्य मुद्दाहरूलाई प्रभावित गर्न सक्दैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुई दिनअघि पत्रकार सम्मेलनमा भनेका थिए।

प्रकाशित: २६ वैशाख २०८३ १६:०९ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast