‘मुन्दुम ट्रेल’मा ढकमक्क फुल्यो गुराँस

हिमाल प्रेस २० वैशाख २०८३ ८:३७ | Sunday, May 3, 2026
12
SHARES
‘मुन्दुम ट्रेल’मा ढकमक्क फुल्यो गुराँस मुन्दुम ट्रेल आसपासका क्षेत्रमा फुलेका गुराँस खोटाङ, २० वैशाख ः नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा फुलेका विभिन्न प्रजातिका गुराँस । हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ । तस्वीर सौजन्य : हिँडने मान्छे

खोटाङ- नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक ‘मुन्दुम ट्रेल’ यतिबेला ढकमक्क फुलेका गुराँसले राताम्मे बनेको छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा पर्ने यो पदमार्गमा थरिथरिका गुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।

खोटाङको साकेला गाउँपालिका–३ तावाभञ्ज्याङबाट सुरु हुने यो पदमार्गमा रातो, सेतो र गुलाबी रङका गुराँसका साथै चिमाल र चाँपले वनै रंगीन बनाएको छ। हालै यो पदयात्रा पूरा गरेका ओजनबाबु आचार्य नेतृत्वको टोलीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरले मुन्दुम ट्रेलको चर्चा थप चुलिएको हो।

यसपटक मुन्दुम ट्रेलमा के छ विशेष?

घाँसे मैदानमा गुराँसस् अन्य ठाउँमा भिर–पाखामा गुराँस फुल्ने भए पनि यहाँ ठूला–ठूला घाँसे मैदानमै गुराँस ढकमक्क फुलेको देख्न सकिन्छ। जैविक विविधता: अनुसन्धानकर्ताका अनुसार यस क्षेत्रमा १८ प्रजातिका गुराँस फेला परेका छन्। साथै यहाँ रेडपाण्डा, थार र भिरमौरी जस्ता दुर्लभ वन्यजन्तुको समेत अवलोकन गर्न पाइन्छ।

गोठ–स्टे स् पर्यटकको संख्या बढेसँगै स्थानीयले परम्परागत गोठहरूलाई स्तरोन्नति गरी बस्ने–खाने व्यवस्था मिलाएका छन्। यहाँ आउने पर्यटकले चौँरीको दूध, फापर–कोदोको ढिँडो, लोकल कुखुरा र स्थानीय उत्पादनको स्वाद लिन पाउँछन्।

किराँत समुदायको मौखिक ग्रन्थ ‘मुन्दुम’ मा आधारित जीवनशैली र संस्कार जोडिएकाले यस पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो। यो पदमार्ग टेम्केडाँडा ९३,१६५ मिटर० बाट सुरु भई मैयुङ र साल्पापोखरी हुँदै ४,१६५ मिटर उचाइको सिलिचुङ पुगेर टुङ्गिन्छ।

पहाडै–पहाडको चुचुरामा निर्माण गरिएको यो ट्रेल पूरा गर्न नेपालीलाई करिब १० दिन र विदेशी पर्यटकलाई १३ दिन लाग्छ। वसन्त ऋतुमा हिमालको दृश्यसँगै गुराँसको आनन्द लिन चाहनेहरूका लागि यो ट्रेल उत्कृष्ट गन्तव्य बनेको मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए।

प्रकाशित: २० वैशाख २०८३ ८:३७ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast