तस्बिर एआई निर्मित ।
रौतहट- बौधीमाई नगरपालिकास्थित शंकर माध्यमिक विद्यालय सरमुजवामा कार्यरत शिक्षक रामबाबु यादवमाथि भएको दुर्व्यवहार तथा कुटपिट घटनाको विरोध गर्दै जिल्लाका विभिन्न शिक्षक संगठनहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
नेपाल शिक्षक महासंघ रौतहटसहित विभिन्न पेसागत शिक्षक संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव, वडा नं. ८ का अध्यक्ष विन्देश्वर राय यादव तथा कार्यपालिका सदस्य सुनिल जयसवाललाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग गरेका हुन्।
विज्ञप्तिमा नेपालको संविधानले शिक्षालाई तीनै तहको साझा अधिकार क्षेत्रभित्र राखेको उल्लेख गर्दै शिक्षकलाई नियमन गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिबाट नै शिक्षकमाथि दुर्व्यवहार हुनु दुःखद् र निन्दनीय भएको जनाइएको छ।
शिक्षक संगठनहरूले आगामी जेठ ५ गतेभित्र दोषीहरूलाई कानुनी कारबाही नगरिए चरणबद्ध कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल शिक्षक संघ रौतहटका सचिव नागेन्द्र राय यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन (एण्टो) रौतहटका अध्यक्ष धर्मेन्द्र प्रसाद सिंह, एकीकृत अखिल शिक्षक संगठन (एण्टो) रौतहटका अध्यक्ष बुनिलाल प्रसाद यादव तथा नेपाल शिक्षक मञ्च रौतहटका अध्यक्ष शिवशंकर झाले हस्ताक्षर गरेका छन्।





