दाङ- सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ।
डिभिजनअन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरुले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ।
सडक सीमा अतिक्रमित हुँदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ।
सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संंरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ।
कार्यालयले जारी गरेको सूचनामा पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको-कोइलावास-लमही-घोराही सडकखण्ड, राप्ती राजमार्गको-अमेलिया-तुलसीपुर-सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको-गढवा-राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी-खलङ्गा-बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी-घोराही-तुलसीपुर-काल्चे सडकखण्ड,भालुबाङ-गनाहा-सडकखण्ड र रारा राजमार्गको-थारमारे-चौरजहारी सडकखण्डको सिमा अतिक्रमण भएको उल्लेख छ।




