भारत र मलेसियाबाट फर्किएर माटोसँग मितेरी, तरकारीखेतीले फेरियो जीवन

हिमाल प्रेस ८ जेठ २०८३ ६:४४ | Friday, May 22, 2026
8
SHARES
भारत र मलेसियाबाट फर्किएर माटोसँग मितेरी, तरकारीखेतीले फेरियो जीवन

म्याग्दी- तीन दशकअघि तरकारीको बीउ किन्नसमेत पैसा नभएका बेनी नगरपालिका-२ खबराका सोवित शर्माले व्यावसायिक कृषिबाट नाम, दाम र पहिचान कमाउन सफल भएका छन्।

५० वर्षीय शर्माले २०५२ सालमा ऋण खोजेर १५० रुपैयाँको बीउ किनी धानबालीको सट्टा बन्दा र काउली खेती सुरु गरेका थिए। सुरुवाती चरणमा उत्पादनले बजार नपाउँदा निराशा भोग्नुपरे पनि त्यसपछि लगाएको सागबालीले लगानी उठाइदियो।

अन्नबालीबाट परिवार धान्न कठिन भएपछि तीन रोपनी जमिनबाट सुरु भएको तरकारीखेती आज उनको मुख्य आम्दानीको स्रोत बनेको छ। हाल उनी मासिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै करिब ५० हजार रुपैयाँ बचत गर्न सफल छन्।

तरकारी र केराखेतीबाट भएको आम्दानीले उनले खबरामा पक्की घर निर्माण गरेका छन् भने पोखराको लेखनाथ क्षेत्रमा घडेरीसमेत खरिद गरेका छन्। पहिरोले पुरिएको सात रोपनी पाखोबारीलाई थप १६ लाख रुपैयाँ लगानी गरेर पुनः व्यवस्थित कृषि फार्ममा रूपान्तरण गरेका छन्।

उनले गड्यौलाबाट तयार गरिएको भर्मी कम्पोष्ट मल र गहुँतको प्रयोग गरी जैविक विधिबाट खेती गर्दै आएका छन्। फार्ममा चारवटा टनेल, केरा, कागती, डालेघाँस तथा विभिन्न मौसमी तरकारी उत्पादन गरिन्छ। परागसेचनका लागि १० घार मौरीसमेत पालेका छन्।

बाल्यकालमै बुबाको मृत्यु, आर्थिक अभाव र विदेश पलायनको बाध्यता झेलेका शर्माले भारत र पछि मलेसियामा काम गरे। विदेशबाट फर्किएपछि भने खेतीलाई थप व्यावसायिक बनाउँदै सफल उद्यमी कृषकको पहिचान बनाए।

२०७२ सालमा उनी उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित भएका थिए। विभिन्न कृषि मेला तथा प्रतियोगितामा पनि अनेक पुरस्कार प्राप्त गरेका छन्।

हाल उनको फार्ममा परिवारका सदस्यबाहेक तीन जनाले रोजगारी पाएका छन्। बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार शर्माको सफलताबाट प्रभावित भएर खबराका धेरै किसान व्यावसायिक तरकारी तथा केराखेतीतर्फ आकर्षित भएका छन्।

खबरा गाउँका करिब २५ परिवारले अहिले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् भने गाउँको प्रमुख आयस्रोत केराखेती बनेको छ।

शर्माका अनुसार उत्पादन लागतको सही हिसाब नहुनु, श्रमिक अभाव र सिँचाइको समस्या अझै पनि व्यावसायिक कृषिका प्रमुख चुनौती हुन्।

प्रकाशित: ८ जेठ २०८३ ६:४४ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast