सगरमाथा
काठमाडौँ- चीनले तिब्बततर्फबाट यस सिजन आरोहण बन्द गरेपछि सर्वोच्च शिखर आरोहणका लागि नेपालतर्फ आरोहीहरूको आकर्षण बढेको छ। यही कारण यस वसन्तयाममा नेपालले सगरमाथा आरोहणका लागि हालसम्मकै सर्वाधिक चार सय ९२ अनुमति जारी गरेको छ।
अभियान सञ्चालकहरूका अनुसार तिब्बतीमार्ग बन्द भएपछि नेपालतर्फको माग उल्लेख्य रूपमा बढेको हो। यसअघि सन् २०२३ को वसन्त याममा चार सय ७८ अनुमति जारी गरिएको थियो।
पर्यटन विभागका अनुसार यस सिजन नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५५ देशका आरोहीहरूले अनुमति पाएका छन्। सबैभन्दा धेरै एक सय नाै चिनियाँ आरोही छन्। त्यसपछि अमेरिकाका ७६ र भारतका ६१ आरोही छन्। बेलायत, रुस र अस्ट्रेलियाबाट क्रमशः ३२, १८ र १५ आरोहीले अनुमति लिएको विभागले जनाएको छ।
सन् २०२४ मा अनुमति संख्या घटेर चार सय २२ मा पुगेको थियो भने गत वर्ष चार सय ६८ पुगेको थियो। यस वर्ष भने त्यो संख्या फेरि बढेर कीर्तिमान कायम भएको हो।
शिखरतर्फको मार्ग ढिलो खुल्नु र आरोहीहरूको चाप अत्यधिक हुनुका कारण मेको दोस्रो सातापछि खुल्ने छोटो मौसमीय अवसरमा शिखर नजिकका साँघुरा भागमा भीडभाड हुने चिन्ता पनि बढेको छ।
खुम्बु आइसफल क्षेत्रमा करिब ३० मिटर अग्लो विशाल बरफको ढिस्को खसेर मार्ग अवरुद्ध भएपछि शिखरतर्फ डोरी टाँग्ने काम ढिलो भएको थियो। यसले पहिलो आधारशिविरसम्मको बाटो खोल्न पनि ढिलाइ गरायो। गत वर्ष मे ८ भित्रै शिखरसम्म डोरी टाँगिसकिएको थियो र मे ९ बाट आरोहीले शिखर चुम्ने प्रयास थालेका थिए। यस वर्ष डोरी टाँग्ने टोली शनिबार मात्रै साउथ कोल पुगेको इम्याजिन नेपाल नामक अभियान कम्पनीले जनाएको छ।
नेपाल एक्सपिडिसन अपरेटर्स एसोसिएसन (ईओएएन) ले यस वसन्तयामका लागि सगरमाथा र ल्होत्सेमा डोरी टाँग्ने जिम्मा ८ के एक्सपिडिसन्सलाई दिएको छ।
यसैबीच सरकारले यस वर्ष पर्वतारोहणबाट हालसम्मकै उच्च राजस्व संकलन गरेको छ। पर्यटन विभागका अनुसार यस वसन्तयाममा पर्वतारोहण रोयल्टीबापत एक अर्ब २४ करोड रुपैयाँ संकलन भएको छ। त्यसमध्ये सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक अर्ब सात करोड रुपैयाँ संकलन भएको हो।
राजस्व वृद्धि हुनुमा आरोहीहरूको संख्या बढ्नुका साथै सरकारले गत वर्षको सेप्टेम्बरदेखि सगरमाथा आरोहण अनुमति शुल्क ११ हजार अमेरिकी डलरबाट बढाएर १५ हजार डलर पुर्याएको निर्णय पनि प्रमुख कारण बनेको छ।



