इशान-दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

हिमाल प्रेस ८ जेठ २०८३ १३:५९ | Friday, May 22, 2026
6
SHARES
इशान-दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

काठमाडौँ- टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो सर्वाधिक ओडीआई योगफल बनाउँदै अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। नेपालका लागि इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै महत्त्वपूर्ण योगदान दिए।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनायो। यो टीयू मैदानमा नेपालको अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले २०२३ मा ओमानविरुद्ध ३१० रन बनाएको थियो।

ओडीआईमा नेपालको सर्वाधिक योगफल ३२१ रन स्कटल्यान्डविरुद्ध हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि इशान पाण्डेले ८४ रनको सर्वाधिक योगदान दिए। ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरेका उनी शुभम रन्जानेको बलमा क्याच आउट भए।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेबीच ११० रनको साझेदारी भयो। रोहित पौडेलले ४६ रन जोडे र मिलिन्द कुमारको बलमा एलबीडब्लु आउट भए।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे। भुर्तेल २९ रनमा आउट भए भने आशिफले ४३ रन बनाए।

गुल्सन झा १५ रन र दीपेन्द्र सिंह ऐरी ५९ रन बनाएर आउट भए। दीपेन्द्र रनआउट भए भने सोमपाल कामी ५ रनमा रनआउट भए।

अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए भने रुसिल उगारकर र मिलिन्द कुमारले १/१ विकेट लिए।

अमेरिकाले ३१८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित: ८ जेठ २०८३ १३:५९ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast