मदन भण्डारी कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता : विद्यादेवी भण्डारी

हिमाल प्रेस ३ जेठ २०८३ ११:१५ | Sunday, May 17, 2026
6
SHARES
मदन भण्डारी कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता : विद्यादेवी भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी छन्। ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारीकी पत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी हुन्। त्यस अवसरमा उनले मदन-आश्रितको तस्बिरमा माल्यार्पण पनि गरेकी छन्।

उनले मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता, जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक भएको बताइन्। भण्डारीले आश्रितलाई कुशल संगठकको रूपमा स्मरण गरिन्। ‘उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले भनिन्, ‘जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुऱ्याउनुभएको थियो।’

राजनीति जनताको जीवनसँग जोडिएको विषय भएको चर्चा गर्दै भण्डारीले राजनीति जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई मदन भण्डारीले अझ गहिरोसँग स्थापित गरेको बताइन्। ‘हामीले गौरवका साथ स्मरण गर्ने नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो। यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको रूपमा आत्मसात गरेका छौँ। यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।’

जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास भएको उनको भनाइ थियो। ‘बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ,’ भण्डारीले भनिन्। जीवराज आश्रितले पार्टी संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण, अनुशासन र वैचारिक प्रतिबद्धताको विकासमा पुऱ्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्दै उनले आश्रितको समर्पण, सादगीपन, संगठनप्रतिको निष्ठा र जनतासँगको सम्बन्ध राजनीतिक कार्यकर्ताका लागि सधैं प्रेरणाको स्रोत बनिरहने विश्वास पनि व्यक्त गरिन्।

उनले विगतका राजनीतिक उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि गम्भीर हुन आवश्यक रहेकोमा जोड दिइन्। ‘यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्,’ उनले भनिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो।’ उनले पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने बताइन्। ‘त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ,’ उनले भनिन्, ‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनै पर्दछ।’

प्रकाशित: ३ जेठ २०८३ ११:१५ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast