काठमाडौँ- इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भनेका छन्, ‘हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका ९मस्यौदा० तयार पार्नु हुनेछ।’
इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वासिङ्टनबीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएका छन्। विदेशमन्त्री बकाईले भनेका छन्, ‘वासिङटनसँग मेलमिलापका लागि सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार छ तर यसको मतलब तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्त्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने भने होइन।’
इरानको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बिच आएको हो। शान्तिवार्तालाई मध्यस्थता गर्न इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच पश्चिम एसियामा तनाव कम गर्ने जारी प्रयास स्वरूप भएको शुक्रबार भएको बैठकपछि इरानको धारणा सार्वजनिक भएको हो।
यसअघि दुई नेताबिच शुक्रबार राति अबेरसम्म भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको थियो। बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ। भेटमा दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका बताइएको छ।
पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन। मध्यपूर्व कूटनीतिमा सम्भावित सफलतालाई प्रकाश पार्दै हाल भारतको चार दिने आधिकारिक भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय राजधानीस्थित अमेरिकी दूतावासमा आयोजित एक कार्यक्रममा इरानसँग शान्ति सम्झौताको दिशामा प्रगति भइरहेको खुलासा गरेका छन्।




