तनहुँ- तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो ।
सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकारमातहतको प्रदेश अस्पताल दमौली रहेकामा नगरपालिकाले सदरमुकामभन्दा पाँच किलोमिटर पर नगरस्तरीय अस्पताल निर्माण गरेको हो । आर्थिक वर्ष २०७७÷७८ देखि यहाँ नगरस्तरीय अस्पताल निर्माणको काम सुरु भएको थियो ।
नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर डा राजु पौडेलका अनुसार अस्पताल भवनमा ९६ लाख ३८ हजार ८७६ रुपैयाँ, पिसिआर मेसिनमा २६ लाख ५२ हजार ७०० रुपैयाँ, पिसिआर ल्याब सेटमा ५८ लाख ८७ हजार ४१७ रुपैयाँ, जेनेरेटरमा १० लाख ५७ हजार ६०० रुपैयाँ, टायलमा चार लाख ४८ हजार ५९६ रुपैयाँ, विद्युत्मा चार ५४ लाख ५४५ रुपैयाँ, ढोका फर्निसिङमा चार लाख ९१ हजार ६०८ रुपैयाँ, अस्पताल जाने बाटो निर्माणमा पाँच लाख, फर्निचरमा एक लाख २९ हजार ८६४ रुपैयाँ, पर्खाललगायत मर्मतमा १० लाख र पर्खाल निर्माणमा रु १९ लाख ५० हजार रपैयाँ खर्च भएको छ ।
नगरस्तरीय अस्पतालबाट सो वडाका साथै व्यास नगरपालिका–५, ६, ७, ८, ९, ११ का विभिन्न भागका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। व्यास नगरपालिका–५ चिन्तुटारका तारापति पौडेलले दमौलीभन्दा नजिक रहेको अस्पताल आफूहरूका लागि बरदान सावित भएको बताए।




