८ अध्यादेश नै सदनमा पेस गर्दै सरकार

हिमाल प्रेस २८ वैशाख २०८३ १०:२८ | Monday, May 11, 2026
८ अध्यादेश नै सदनमा पेस गर्दै सरकार

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रियसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले सभामा पेस गर्न लागेका हुन्। यस दिन दिउँसो २ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद्को बजेट अधिवेशन आजैदेखि सुरु हुन लागेको हो । बैठकका निम्ति विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २0८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । उनले नै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २0८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन] अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २0८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २0८३’ पेस गर्नेछिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २0८३’ सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । उनले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त अरू पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यसै दिन दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक पनि बस्नेछ । प्रतिनिधिसभाको बैठकमा पनि अध्यादेश पेस गर्नेलगायत सम्भावित कार्यसूची छ ।

प्रकाशित: २८ वैशाख २०८३ १०:२८ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast