कम्युनिस्ट आन्दोलन सखाप पार्न देशीविदेशी शक्ति लागिपरेका छन् : प्रचण्ड

हिमाल प्रेस २७ वैशाख २०८३ १६:४३ | Sunday, May 10, 2026
कम्युनिस्ट आन्दोलन सखाप पार्न देशीविदेशी शक्ति लागिपरेका छन् : प्रचण्ड नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा कम्युनिस्टहरूको आधार सिध्याउने योजना भइरहेको बताएका छन्।

आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २६ औं निर्मल लामा स्मृति सभामा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनअन्तर्गत लागिपरेको बताएका हुन्।

गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीतिअन्तर्गत भएका पर्दाभित्रका खेलहरू विस्तारै बाहिर आउने उनले बताए। देश राष्ट्रियरूपमा पनि निकै अप्ठ्यारो ठाउँमा आइपुगेको भन्दै प्रचण्डले सच्चा कम्युनिस्टहरूको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रूपले बढेको उल्लेख गरे।

नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा राम्रो रहेको र राष्ट्रिय स्वाधीनताको पक्षमा इमान्दारिताका साथ लड्ने तागत कम्युनिस्ट तागत नै हो भन्ने जनताको विश्वास नमरेको उनको भनाइ छ। संयोजक प्रचण्डले कम्युनिस्ट र सबै देशभक्तहरूको एकतामा केन्द्रित गरेर एउटा नयाँ अभियानतिर जान नसके दुर्भाग्य हुने धारणा राखे।

अहिले गणतन्त्र र लोकतान्त्रिक उपलब्धिहरूमाथि प्रहार हुने खतरा दिनप्रतिदिन बढेको महसुुस भएको उनको भनाइ छ। श्रमजीवी वर्गमाथि सरकारले प्रहार गरेर पीडा दिने कोसिस भएकाले कम्युनिस्ट एकता, देशभक्तहरूको एकता पूर्वशर्त जस्तै बनेको उनको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०८३ १६:४३ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast