निजी क्षेत्रको सुरक्षासहित आर्थिक सुधार अघि बढाउन ढकालको आग्रह

हिमाल प्रेस २१ वैशाख २०८३ १४:५८ | Monday, May 4, 2026
4
SHARES
निजी क्षेत्रको सुरक्षासहित आर्थिक सुधार अघि बढाउन ढकालको आग्रह

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्ने बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगतमा विभिन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गर्दै नयाँ अवसरहरूको खोजीमा निजी क्षेत्र सक्रिय रहेको बताए। ‘हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,’ उनले भने।

ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताए। झन्डै दुई तिहाइ समर्थनसहित सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई नीतिगत स्थायित्व र विकासका लागि प्रयोग गर्न आग्रह गरे।

महासंघको पहलमा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पारित गरिएको रणनीतिप्रति सरकारको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै ढकालले यसले निजी क्षेत्रको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे।

‘निजी उद्यमीलाई भौतिक मात्र होइन, नीतिगत सुरक्षाको प्रत्याभूति आवश्यक छ,’ उनले भने। दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ढकालले आवश्यक कानुनी संशोधन, परिमार्जन तथा खारेजी प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे।

महासंघले यसअघि नै आर्थिक रूपान्तरणका लागि कानुनी सुधारको माग गर्दै आएको उनको भनाइ छ। ढकालले नेपालमा हाल ठूलो आर्थिक अवसर उपस्थित भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।

‘निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिइयो भने नेपालसँग तीव्र आर्थिक प्रगतिको पर्याप्त सम्भावना छ,’ उनले भने। उनले लगानी वृद्धि, प्रविधिको उच्चतम प्रयोग, सदाचार प्रवर्द्धन र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत आर्थिक सुधारलाई अगाडि बढाउनुपर्ने बताए।

प्रकाशित: २१ वैशाख २०८३ १४:५८ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast