वीर, पाटन र टिचिङ अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाइने

हिमाल प्रेस १५ जेठ २०८३ १७:२० | Friday, May 29, 2026
8
SHARES
वीर, पाटन र टिचिङ अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाइने

काठमाडौँ- सरकारले वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यी स्वास्थ्य प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयको रूपमा रूपान्तरण गरिने बताए।

उनका अनुसार ती अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्न सकिने क्षमता विकास गरिनेछ।

निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र शिक्षकहरूको सेवा सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गरिने सरकारको घोषणा छ। अर्थमन्त्री वाग्लेले कर्मचारीतन्त्रलाई मर्यादित, सक्षम र जवाफदेही बनाउने उद्देश्यले सेवा सुविधा सुधार गरिने बताए।

सरकारले विद्यमान बोझिलो प्रशासनिक संरचनामा ठूलो सुधार गर्ने पनि घोषणा गरेको छ। संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारिसकिएको उल्लेख गर्दै अब विभाग, कार्यालय र दरबन्दी कटौती तथा पुनर्संरचना अघि बढाइने बताइएको छ।

३१ निकाय खारेज, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकाय पुनर्संरचना गरिने सरकारको योजना छ। सरकारले अनावश्यक खर्च कटौती गर्दै प्रशासनिक दक्षता बढाउने नीति लिएको छ।

तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामरा तथा टेलिभिजन जस्ता उपकरण खरिदमा बजेट विनियोजन रोक्ने, विभिन्न कोषमार्फत दिइँदै आएका सुविधा बन्द गर्ने निर्णय गरिएको छ।

सरकारी संस्थानका पदाधिकारी तथा कर्मचारीलाई आफ्नै संस्थानका वस्तु तथा सेवामा दिइँदै आएको छुट सुविधा पनि हटाइने भएको छ। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान तथा दायित्व व्यवस्थापन सम्पन्न नभएसम्म सम्बन्धित निकायको बजेट रोक्का गरिने व्यवस्था गरिएको छ।

सरकारले यी सबै सुधारात्मक कदमबाट करिब २० अर्ब रुपैयाँ बचत हुने प्रारम्भिक अनुमान गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८३ १७:२० | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast