अमेरिकाले इरानमा फेरि आक्रमण थाल्यो

हिमाल प्रेस १२ जेठ २०८३ १८:३६ | Tuesday, May 26, 2026
14
SHARES
अमेरिकाले इरानमा फेरि आक्रमण थाल्यो तस्बिर : एएफपी/रासस

काठमाडौँ- अमेरिकाले दक्षिण इरानमा नयाँ हवाई आक्रमणहरू गरेको जनाएको छ। ती आक्रमणहरू इरानी मिसाइल साइटहरू र बारुद (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरिएको बीबीसीले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी मंगलबार गरेको विज्ञप्तिमा ती आक्रमणहरू आत्मरक्षाका लागि गरिएको र इरानी सेनाबाट उत्पन्न खतराविरुद्ध हाम्रा सैनिकहरूलाई सुरक्षा दिन लक्षित रहेको उल्लेख छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले मंगलबार एक अमेरिकी ड्रोन खसालिएको र आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको एक लडाकु विमान तथा अर्को ड्रोनमाथि गोली चलाइएको जनाएको छ। यो घटना कहिले भयो भन्ने स्पष्ट गरिएको छैन।

इरानसँग अमेरिकी कुनै पनि युद्धविराम उल्लंघनको जवाफ दिन वैध र निश्चित अधिकार नरहेको इरानी पक्षको भनाइ छ।

सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले एक विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘इरानी सेनाबाट उत्पन्न खतराविरुद्ध हाम्रा सैनिकहरूको सुरक्षा गर्न आज दक्षिण इरानमा अमेरिकी सेनाले आत्मरक्षात्मक आक्रमणहरू गरेको हो।’

अमेरिकी सेन्ट्रल कमान्ड जारी युद्धविरामका बीच संयम अपनाउँदै हाम्रो फौजको रक्षा गर्न निरन्तर लागिरहेको हकिम्सको भनाइ छ।

क्याप्टेन हकिन्सका अनुसार यी अमेरिकी आक्रमण दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिक गरिएको थियो। यो सहर इरानी नौसेनाको आधार रहेको र हर्मुज जलक्षेत्रको किनारमा अवस्थित छ।

इरानी सरकारी मिडियाले यसअघि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले विस्फोटको आवाज सुनिएपछि अनुसन्धान भइरहेको जनाएको थियो।

पछिल्ला अमेरिकी आक्रमणहरूले अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौतामा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट छैन।

आक्रमणपछि अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले सम्झौता अझै सम्भव रहेको बताएका छन्। उनले मंगलबार कतारका प्रधानमन्त्री तथा इरानका प्रमुख वार्ताकारबीच हुने वार्तातर्फ संकेत गरेका छन्।

‘हामी प्रगति गर्न सक्छौँ कि सक्दैनौँ हेर्नेछौँ। प्रारम्भिक दस्तावेजका विशिष्ट शब्दावलीबारे धेरै छलफल भइरहेको छ, त्यसैले केही दिन लाग्नेछ,’ भारत भ्रमणमा रहेका रुबियोले पत्रकारहरूसँग भने।

उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता गर्न चाहेको इच्छा व्यक्त गरेका छन्। सोमबारको आक्रमणबारे पुनः सोधिँदा रुबियोले भने, ‘जलमार्गहरू खुला हुनैपर्छ। ती कुनै न कुनै तरिकाले खुल्नेछन्, त्यसैले खुला हुनैपर्छ। त्यहाँ जे भइरहेको छ, त्यो गैरकानुनी छ, अवैध छ, विश्वका लागि असहनीय छ, स्वीकार्य छैन।’

इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले मध्यपूर्व अब अमेरिकी सैन्य आधारहरूको ढाल बन्न नदिइने बताएका छन्।

यस वर्ष सुरुमा आफ्नो दिवंगत बुबाको स्थानमा सर्वोच्च नेता बनेपछि सार्वजनिक रूपमा नदेखिएका खामेनेईले वार्षिक हजयात्राको अवसरमा मंगलबार सन्देश जारी गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘दुष्टका लागि सुरक्षित आश्रयस्थल र सैन्य आधारहरू स्थापना गर्ने अवस्था अब छैन, अमेरिका दिनप्रतिदिन आफ्नो पुरानो स्थितिबाट टाढिँदै छ।’

मेको सुरुमा हर्मुज जल क्षेत्रमा इरान र अमेरिकी नौसैनिक विध्वंसक जहाजबीच झडप भएको थियो, जसमा दुवै पक्षले एकअर्कालाई दोष दिएका थिए। त्यसपछि ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गरेका थिए।

सप्ताहान्तमा ट्रम्पले दुवै पक्ष सम्झौतासँग नजिक रहेको संकेत दिएका थिए, तर पछि वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताए। रुबियोले पनि सम्झौता हुन सक्ने बताएका थिए।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले भने, ‘हामी छलफलमा रहेका धेरै विषयमा निष्कर्षमा पुगेका छौँ भन्नु सही हो… तर यसको अर्थ सम्झौता तुरुन्तै हुने हो भन्ने होइन।’

चर्चामा रहेको सम्झौता–समझदारीमा ६० दिनको युद्धविराम विस्तार, हर्मुज जल क्षेत्र पुनः खोल्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ताको योजना समावेश रहेको बताइएको छ।

अमेरिकी गुप्तचर निकायले इरानका नयाँ सर्वोच्च नेता अज्ञात स्थानमा लुकेर बसेको ठानिएको छ। सोही कारण वार्ता ढिलाइ भइरहेको बताइएको छ।

मोजतबा खामेनेई दिवंगत पिता र पूर्व सर्वोच्च नेता मारिएको दिन इजरायली आक्रमणमा घाइते भएको विश्वास गरिएको छ।

अमेरिकी मिडियाका अनुसार यी वार्ताहरूले तत्काल अन्तिम सम्झौतामा पुर्‍याउने छैनन्। विवादास्पद विषयहरू पछि वार्तामा उठाइनेछ, जसमा इरानमाथिको प्रतिबन्ध हटाउने, रोकिएको सम्पत्ति फिर्ता गर्ने र इरानको आणविक महत्त्वाकांक्षा नियन्त्रण गर्ने अमेरिकी माग समावेश छन्।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का अनुसार युद्ध सुरु हुँदा इरानसँग करिब ४४० किलो (९७० पाउन्ड) ६० प्रतिशत शुद्धतासम्म समृद्ध युरेनियम थियो।

ट्रम्पले सोमबार राति उक्त समृद्ध युरेनियम तुरुन्तै अमेरिकालाई बुझाइने वा सबैभन्दा राम्रो विकल्पमा इरानसँग सहकार्यमा त्यहीँ नष्ट गरिने बताएका थिए।

अमेरिकी र इरानी सेनाले ८ अप्रिलदेखि युद्धविराम पालन गर्दै आएका छन्। इरानले हर्मुज जल क्षेत्रबाट खाडी क्षेत्रको जहाज आवागमन नियन्त्रण गर्दै आएको छ भने अमेरिकी नौसेनाले इरानी बन्दरगाह नाकाबन्दी गर्ने प्रयास गरेको छ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि पश्चिम एसियमा द्वन्द्व चर्काएको थियो।

इरानले त्यसको जवाफमा इजरायल र खाडीका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो। हर्मुज जल क्षेत्र बन्द गरेको थियो। यस कदमले विश्वव्यापी तेल मूल्य तीव्र रूपमा बढाएको छ।

प्रकाशित: १२ जेठ २०८३ १८:३६ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast