अमेरिकी आक्रमणपछि क्षतिग्रस्त बनेको इरानको एउटा पानी भण्डारण।
काठमाडौँ– इरानको राजधानी तेहरानमा अमेरिकी हवाई आक्रमण भएपछि त्यहाँको वायु प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझै समाप्त नभएको बताएका केही समयपछि यो आक्रमण भएको समाचार एजेन्सीले एपीले उल्लेख गरेको छ।
हर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सम्बन्धी प्रारम्भिक सहमति भंग भएपछि दुई देशबीचको सैन्य तनाव पुनः चर्किएको छ। अमेरिकी सेनाले लगातार ११औँ रात पनि इरानका सैन्य अखडामाथि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार बुसेहर परमाणु ऊर्जा केन्द्र आसपासका क्षेत्रहरू पनि निसानामा परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धबाट भएको क्षतिबाट उकासिन इरानलाई २० वर्षभन्दा बढी समय लाग्ने दाबी गरेका छन्।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार हालसम्म यस युद्धमा अमेरिकाले ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको छ। आगामी नोभेम्बरमा हुने अमेरिकी विधायिका निर्वाचनका कारण राष्ट्रपति ट्रम्पमाथि युद्ध अन्त्य गर्न राजनीतिक दबाब बढ्दै गएको छ। अमेरिकाभित्र पनि यस युद्धको निरन्तर विरोध भइरहेको छ।
अर्कोतर्फ अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले फिलिपिन्सको मनिलामा अमेरिका कूटनीतिक माध्यमबाट सम्झौता गर्न तयार रहेको बताएका छन्। उनले इरानले वार्तालाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्।
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने मध्यस्थकर्तामार्फत अमेरिकासँग कूटनीतिक वार्ता जारी रहेको पुष्टि गरेका छन्।

