काठमाडौँ- भारत सरकारको अनुदानमा नेपालका आठ जिल्लामा १४ वटा विद्यालय निर्माण गरिने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (शिक्षा) र निर्माण कम्पनीहरूबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
भारतीय राजदूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने ती विद्यालयका लागि भारत सरकारले ५६ करोड २ लाख रुपैयाँ (नेरु. ५६.०२ करोड) अनुदान उपलब्ध गराउनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक, एकाइका अधिकारीहरू तथा निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।

निर्माण गरिने विद्यालयहरू नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार तयार गरिने जनाइएको छ। विद्यालय पूर्वाधारअन्तर्गत शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठा तथा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय तथा सरसफाइ संरचनाहरू निर्माण गरिनेछन्।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रमअन्तर्गत यसअघि आठ जिल्लाका ७० वटा विद्यालय तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न गरी सन् २०२४ को जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
भारतीय राजदूतावासले भूकम्पपछिका पुनर्निर्माण परियोजनासहित नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकार र सम्बन्धित निकायहरूसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




