फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले सरकारले ल्याएको विनियोजन विधेयक उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र ज्ञानमा आधारित डिजिटल अर्थतन्त्रमा रुपान्तरण गर्ने कोशेढुंगा सावित हुने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
सरकारी बजेटको मुख्य मर्म सीमित स्रोतको प्रभावकारी बाँडफाँट र उच्चतम उपयोग रहेको उनले उल्लेख गरे। सांसद कर्णले विनियोजन विधेयकले सीमित सरकारी स्रोतलाई उच्च प्रतिफल दिने क्षेत्रमा केन्द्रीकृत गर्ने अठोट लिएको बताए।
उनले सुशासन र डिजिटेलाइजेसन विधेयकको मुटु रहेको जिकिर गरे। विधेयकले सुशासनको लाभांशलाई केन्द्रमा राखेको उल्लेख गर्दै कर्णले फेसलेस, पेपरलेस, डिजिटल प्रशासनमार्फत विचौलियापन प्रथाको अन्त्य गर्ने लक्ष्य लिएको बताए।
‘एकपटकको विवरण सबै सेवामा प्रयोग’ भन्ने सिद्धान्तले राज्यको प्रशासनिक खर्च घटाएर विकास बजेट बढाउने नीति प्रशंसनीय रहेको उनको भनाइ छ।
सांसद कर्णले कृषि क्षेत्रको आमुल परिवर्तन नै गरिबीविरूद्धको लडाइँ रहेको उल्लेख गरे। विधेयकका कृषिमा लगानी दशक, व्यवसायिक कृषि मोडेललगायतका अवधारणाले भूमिलाई उत्पादनसँग जोड्नुको साथै उत्पादनअघि नै न्यूनतम समर्थन मूल्य तोक्ने ग्यारेन्टी गरेको उनले बताए।
विधेयकले साना किसानलाई प्रविधिसँग जोडेर ग्रामीण समृद्धिका नयाँ ढोका खोल्ने उल्लेख गरे। उनले रास्वपा सरकारले प्रमुख प्रतिपक्षी दलको सपना पनि पूरा गर्ने विश्वास दिलाए।
विधेयकले मध्यम आय भएको समृद्ध नेपाल निर्माण निर्माण गर्ने लक्ष्य लिएको उनको भनाइ छ।




