काठमाडौँ- तरकारीको मूल्य अत्यधिक बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको गोरखापत्रले समाचारमा जनाएको छ।।
कालिमाटीको थोक बजारमा व्यापार गर्ने गीताप्रसाद आचार्यले गत वर्षको तुलनामा तरकारीको मूल्य बढेको तर गत चैतको तुलनामा गोलभेँडा, लौका, घिरौँला, भिन्डीलगायतका तरकारी क्रमशः घट्न थालेको जानकारी दिए। बजारका थोक व्यापारी संस्थाका अध्यक्षसमेत रहेका आचार्यले हिउँदे तरकारीको सिजन सकिने, बर्खे तरकारीको सिजन सुरु भएकाले क्रमशः गत वर्षकै लयमा फर्किने दाबी गरे।
समितिका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेकोमा अहिले छरसात सय मेट्रिक टनमा सीमित हुँदा मूल्य बढेको छ ।
समितिका निर्देशक विनय श्रेष्ठले यो बेला हिउँदे तरकारीको सिजन सकिएको र नयाँ तरकारी आउने क्रममा रहेकाले मूल्यमा असर परेको बताए। यद्यपि गत सातादेखि मकवानपुर, चितवन र केही तराईका जिल्लाबाट बर्खे तरकारी आउन थालिसकेको र अब क्रमशः घट्ने उनले बताए।
समितिका अनुसार यो समय कालिमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्ला र तराईका सर्लाही, बारा, पर्साबाट आउने गर्छन् ।



