मुस्ताङ- समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ-मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ। यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन्। मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन्।
गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग भनिन्छ। हप्तौँहप्ता लाग्ने यही पदमार्ग अहिले सडक सञ्जालका कारण छोट्टिदै जान थालेको छ। सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ-मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ। थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ।
बर्सेनि ६ महिना निकै चहलपहल हुने थोरङलापास पदमार्ग ६ महिना अवधि भने सुनसान हुन्छ। वर्षको याम चल्ने थोरङलापास पदमार्गमा फ्रेब्रअरीदेखि अप्रिलसम्म र सेप्टेम्बरदेखि अक्टुबरसम्म विदेशी पर्यटकको पदयात्रा चलायमान हुने गर्छ। साहसिक पदयात्राका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको थोरङलपास पदमार्ग रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्राका रूपमा लिने गरिएको छ।
बर्सेनि हिउँदयामको पूर्वसन्ध्या तीन महिना र बर्खायामको पूर्वसन्ध्या तीन महिनामात्रै थोरङलापासमा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन्। यही पदयात्राको सिजनलाई पछ्याउँदै मनाङ–मुस्ताङ थोरङ फेदीमा पछिल्लो समय आठवटा पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन्। सिजनका बेला होटल चलाउने र अफसिजनको बेला होटल बन्द गरी त्यहाँका पर्यटन व्यवसायी आफ्नो गन्तव्यतर्फ लाग्छन्।
टंकी मनाङबाट थोरङ फेदीमा तीन वर्षदेखि होटल चलाउँदै आउनुभएकी नामगाम गुरुङले थोरङफेदीको अल्पकालीन व्यापार सन्तोषजनक रूपमा चलेको बताए। बर्खायाममा गाउँ फर्किने र हिउँदयाममा काठमाडौँ झर्ने गरेकी व्यवसायी गुरुङले सिजनको समय थोरङफेदीमा बसेर व्यापार गर्ने गरेको बताइन्।
थोरङ फेदीमा होेटल चलाएर बसेका डोल्पाका अर्का पर्यटन व्यवसायी छेवाङ गुरुङले थोरङलापास पदयात्राको सिजनमा व्यापार गरी बस्ने र अन्य समयमा गाउँमै गएर खेतीपातीको काम गर्ने गरेको बताए। समुद्री सतहको चार हजार २०० मिटरको उचाइमा अवस्थित थोरङफेदीको प्रतिकूल मौसमलाई सहँदै व्यापार व्यवसाय चलाएर बसेको गुरुङको भनाइ छ। ‘घर अर्काको हो, हामीले यहाँ भाडा तिरेर होटल चलाएका हौँ, सिजन चलेका बेला कहिले राम्रै व्यापार हुन्छ, कहिले हुँदै हुँदैन’, उनले भने।
केही वर्षअघि मनाङ–मुस्ताङ पदमार्ग थोरङलापासको थोरङ फेदीसम्म सडकको पहुँच पुगेको थिएन। पछिल्लो समय वारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुर हुँदै थोरङ फेदीसम्म कच्ची सडक विस्तार भइसकेको छ। सडकको पहुँच पुगेकाले खाद्यान्न तथा होटल रेष्टुरेन्टलाई चाहिने मालसामान ढुवानी गर्न सहज भएको छ। दुई ठूला विशाल अग्ला पहाडको खोंचमा अवस्थित थोरङ फेदीमा पर्यटक पर्खिएर बसेका व्यवसायी अफसिजन हुँदा होटल बन्द गरी त्यहाँबाट अन्यत्र जाने चलन छ।
थोरङपासमा एउटा कफीसप सञ्चालनमा छ भने त्यहाँबाट चार घण्टा पैदल हिँडेपछि थोरङफेदीमा आठ दशवटा होटल छन्। थोरङफेदीमा सबै होटल बन्द हुने भएपनि एउटा होटल भने बाह्रै महिना सञ्चालनमा रहन्छ। मनाङ–मुस्ताङ थोरङपास गर्दै मुस्ताङ प्रवेश गरेका सोलुखुम्बकी १९ वर्षीया पर्यटक पथप्रर्दशक बिबिसा रावतले १० दिनको पदयात्रा गर्दै थोरङफेदी आइपुगेको बताए। थोरङपास पदमार्ग जोखिम र साहसिक पदयात्रा भएको उनले बताए। रासस




