पुरानै शैलीको शिक्षक आन्दोलनको औचित्य छैन, दलीय आबद्धता पनि त्यागौं : रमेशबाबु भट्टराई

हिमाल प्रेस ४ वैशाख २०८३ ८:१३ | Friday, April 17, 2026
40
SHARES
पुरानै शैलीको शिक्षक आन्दोलनको औचित्य छैन, दलीय आबद्धता पनि त्यागौं : रमेशबाबु भट्टराई

काठमाडौँ- शिक्षक नेता रमेशबाबु भट्टराईले अब शिक्षक आन्दोलनको पुरानो शैली अन्त्य भइसकेको भन्दै पेसागत विकास र गुणस्तर अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले शिक्षक संगठनहरूलाई रचनात्मक र व्यावसायिक रूपान्तरणतर्फ लाग्न आग्रह गरेका हुन्।

‘अब शिक्षक सडक आन्दोलन र विज्ञप्तिमार्फत गरिने परम्परागत आन्दोलनको औचित्य समाप्त भइसकेको छ। पेसागत हकहितका लागि घरमै बसेर अध्ययन गर्दै नियमित अध्यापनलाई निरन्तरता दिनुपर्छ, डिजिटल माध्यमबाट पनि प्रभावकारी दबाब सिर्जना गर्न सकिन्छ,’ उनले उल्लेख गरेका छन्।

भट्टराईले आन्दोलनको सट्टा शिक्षक पेसागत संस्थाहरूले गर्नुपर्ने कामहरू पनि औंल्याएका छन्। ‘दलीय आबद्धता पूर्ण रूपमा त्याग्नुपर्छ, नत्र संगठनहरू डाइनोसरझैं अप्रासंगिक बन्न सक्छन्,’ उनले भनेका छन्।

शिक्षकहरूलाई शैक्षिक योजना निर्माण, शैक्षिक सामग्री विकास, एआई र आईसीटी प्रयोग, बालमैत्री कक्षाकोठा व्यवस्थापन, लेखा प्रणाली, कार्यसम्पादन मूल्यांकनजस्ता विषयमा तालिम र कार्यशालामा सहभागी गराउनुपर्ने उनको सुझाव छ।

उनले एकीकृत पाठ्यक्रमलाई व्यवहारिक बनाउन नमुना शिक्षण अभ्यास, शिक्षक निर्देशिका तथा पाठ्यक्रमको प्रभावकारी प्रयोग, कक्षामा इन्टरएक्टिभ बोर्ड र आईसीटीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

‘अब पेसागत संघसंगठनका नाममा राजनीतिक दलका नेता बोलाउने र अनावश्यक प्रशिक्षण दिने काम बन्द गर्नुपर्छ नत्र यस्ता संगठनहरूको अस्तित्व नै संकटमा पर्छ,’ उनको भनाइ छ।

भट्टराईले शिक्षकहरूले अभिभावक, विद्यार्थी र शिक्षाप्रेमीको मन जित्नुपर्ने बताए। ‘समाजमा शिक्षकप्रतिको दृष्टिकोण नतिजाबाट सकारात्मक बनाउनुपर्छ, केवल विज्ञप्ति निकालेर होइन। अब सकारात्मक परिवर्तन आफ्नै व्यवहारबाट सुरु गरौं,’ उनले थपेका छन्।

यसैबीच, उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनमा सरकारको कार्यप्रगतिको प्रशंसा गरेका छन्। ‘एसईई परीक्षामा सरकारले गरेको द्रुत गतिको काम सराहनीय छ। यदि एउटा एपमार्फत केन्द्राध्यक्षलाई नै प्राप्ताङ्क प्रविष्ट गर्ने पहुँच दिइएको भए नतिजा छिटो र त्रुटिरहित आउन सक्थ्यो,’ उनले भनेका छन्।

हाल सीमित व्यक्तिबाट मात्र प्राप्ताङ्क प्रशोधन हुँदा कार्यबोझ बढ्ने र मानवीय त्रुटिको सम्भावना रहने उनको भनाइ छ। ‘केन्द्राध्यक्षबाटै नम्बर प्रविष्ट गर्ने व्यवस्था भए त्रुटि कम हुन्थ्यो,’ उनले भने।

प्रकाशित: ४ वैशाख २०८३ ८:१३ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast