सुर्खेत- ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने अभियानका साथ तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भोलि (शुक्रबार) देखि सुरु हुने भएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारीबारे आयोजकले जानकारी दिएको हो।
महोत्सवले कर्णालीलाई चलचित्र पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए। नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ।
महोत्सवमार्फत कर्णालीका मौलिक कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ।
यस वर्ष महोत्सवले कर्णालीका लुकेका कथालाई उजागर गर्न चलचित्र कथा प्रतियोगिता समेत घोषणा गरेको छ। प्रतियोगितामा छनोट हुने उत्कृष्ट कथालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।
साथै जलवायु परिवर्तनका विषयमा सन्देश दिने चलचित्रलाई विशेष प्रोत्साहन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। महोत्सवअन्तर्गत वैशाख ११ गते वीरेन्द्रनगर, सुर्खेतस्थित होटल शुभमा उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम आयोजना हुनेछ। वैशाख १२ गते सल्यानको कुपिण्डेदहमा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवले कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन स्थल र स्थानीय संस्कृति–कला विश्वमाझ चिनाउने अवसर सिर्जना गर्नेछ।




