काठमाडौँ- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित कार्यदलको दोस्रो बैठक बिहीबार सम्पन्न भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक झन्डै दुई घन्टा चलेको थियो।
बैठकमा कार्यदलका सदस्य सचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकले कार्यदलका सबै सदस्यहरूको सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ।
स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गर्ने निर्णय बैठकले गरेको छ।
कार्यदलका संयोजक शाहले कार्यदलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेस गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले कार्यदलका सदस्यहरूले खुलेर साथ दिइरहेको र आगामी दिनमा पनि यही किसिमको साथको अपेक्षा गरे।




