काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीको अवस्था सुधारका लागि सरकारसँग ठोस कदम माग गरेका छन्।
उनले कर्मचारीलाई दीर्घकालसम्म सुविधाबिहीन अवस्थामा काममा लगाइएको भन्दै आपत्ति जनाएका छन्।
अध्यक्ष तिवारीले शिक्षामन्त्री सस्मित पाेखरेल र शिक्षा सचिव चूडामणि पाैडेललाई सम्बोधन गर्दै विगतमा दुई पटक वार्ताका लागि संयोजक बनेको स्मरण गराउँदै अहिलेको बजेट र नयाँ शिक्षा नीतिमा ठोस सुधार आउनुपर्ने बताएका छन्।
उनले प्रश्न गरेका छन्,‘के अब पनि पुरानै शैलीमा बजेट अगाडि बढ्ने हो, कि विद्यालय कर्मचारीका लागि केही नयाँ व्यवस्था गरिन्छ?’
उनले विशेषगरी ६० वर्ष उमेर पुगेपछि विद्यालय कर्मचारीलाई कुनै सुविधाबिना घर पठाइने अवस्था अन्त्य गर्न माग गरेका छन्। तिवारीले यस्ता कर्मचारीका लागि न्यूनतम सामाजिक सुरक्षा, निवृत्तिभरण वा अन्य सुविधा सुनिश्चित गर्नुपर्ने बताएका छन्।
परिषद्ले सरकारसँग आगामी शिक्षा नीतिमा विद्यालय कर्मचारीको सेवा, सुविधा र भविष्य सुरक्षासम्बन्धी व्यवस्था गर्न आग्रह गरेको छ।
अध्यक्ष तिवारीले यस पटकको नीति तथा कार्यक्रममार्फत राज्यले कर्मचारीका समस्या समाधानतर्फ ठोस कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।




