काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ।
कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो।
कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ। त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ। २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेस भएको कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले जानकारी दिए।
दलमा पेस भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेस गर्न समय दिइएको उनले बताए।
त्यस्तै कांग्रेस सांसद अर्जुननरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भए पनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताए। सहमति हुन नसके प्रक्रियाबाट दलको नेता चयन गरिने उनको भनाइ छ।
दलको नेता चयनका लागि शुक्रबार ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ। त्यस्तै दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, अपराह्न ४ देखि ५ बजेसम्म मतदान र मतदात सकिए पनि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ।
कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य लगायतको दाबी छ।




