काठमाडौँ- सरकारले बिजेनसका लागि संघीय संसदको अधिवेशन स्थगन गरेको जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पर्याप्त बिजनेसको तयारीका लागि संसदको अधिवेशन स्थगित गर्ने निर्णय भएको बताएका हुन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदको बैठकमा छलफल हुने कार्यसूची, प्रक्रिया र सम्पूर्ण औपचारिक कामको तयारीका लागि यसअघि बोलाएको संसदको अधिवेशन स्थगित गर्नुपरेको बताए।
उनले भने,‘संसदलाई पर्याप्त बिजनेस दिनका लागि संसद अधिवेशन स्थगित गरिएको हो। सरकारले विधेयकमार्फत कानुन बनाउने छ।’
उनले सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको बताए।
पोखरेलले प्राकृतिक विपद् न्यूनीकरणको पूर्वतयारीका लागि सुकुम्बासीलाई सुरक्षित ठाउँमा सार्न लागिएको बताए।
काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासी बस्तीहरू बर्सेनी बाढीको जोखिममा पर्ने गरेकाले यसपालि बर्खा नजिकिँदै गरेकाले सो क्षेत्रका नागरिकको सुरक्षाका लागि स्थानान्तरण गर्न लागिएको स्पष्ट पारे।
मन्त्री पोखरेलले काठमाडौँ महानगरसँग समन्वय गरेर सुकुम्बासीलाई सुरक्षित स्थानमा सारिने उल्लेख गरे।




