इरानमाथि आक्रमणको ६१औँ दिन : अमेरिका एक्लिँदै?

हिमाल प्रेस १६ वैशाख २०८३ १६:५९ | Wednesday, April 29, 2026
4
SHARES
इरानमाथि आक्रमणको ६१औँ दिन : अमेरिका एक्लिँदै? अमेरिकी–इजरायली आक्रमणपछि तेहरानमा क्षतिग्रस्त आवासीय भवनमा उद्धारकार्यमा जुटेको टोली। तस्बिर : एपी/रासस

काठमाडौँ- इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणबाट उत्पन्न पश्चिम एसियाली संकट बुधबार ६१औँ दिनमा प्रवेश गरेको छ। यो संकट सैन्य मोर्चासम्म सीमित छैन। अमेरिकाको राजनीति, तेल बजार, लेबनान, गाजा र युरोपसम्म यसको प्रभाव देखिन थालेको छ। पश्चिम एसियामा तनाव घट्ने संकेत अहिलेसम्म नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघीय मुख्यालयबाट इरानका पक्षमा एउटा महत्वपूर्ण कूटनीतिक खबर सार्वजनिक भएको छ। इरानलाई सन् २०२६ को परमाणु अप्रसार सन्धि (एनपीटी) समीक्षा सम्मेलनको उपाध्यक्ष चयन गरिएको हो।

यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिका र इजरायल इरानविरुद्ध सैन्य कारबाहीमा सक्रिय छन्। यसलाई विश्व मञ्चमा वासिङ्टन क्रमशः एक्लिँदै गएको संकेतका रूपमा हेरिएको छ। यसअघि पनि नाटोका देशहरूले इरानविरुद्धको युद्धमा अमेरिकालाई प्रत्यक्ष सहयोग वा सहभागिताबाट दुरी बनाएका थिए।

विवरणहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकारीहरूलाई इरानी बन्दरगाहहरूको दीर्घकालीन नाकाबन्दीको तयारी गर्न निर्देशन दिएका छन्। यस समाचारपछि अन्तर्राष्ट्रिय तेल मूल्यमा थप वृद्धि भएको छ। समुद्री व्यापार अवरुद्ध भए ऊर्जा आपूर्तिमा ठूलो असर पर्ने चिन्ता बजारमा देखिएको छ।

लेबनान र इजरायलबीच युद्धविराम लागू भए पनि आक्रमण जारी छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार बिहान सबेरै इजरायली सेनाले हानिन सहरमा हवाई आक्रमण गरेको छ, जसमा धेरै घर ध्वस्त भएका छन्।

दक्षिणी लेबनानको मजदल क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ, जसमा तीन जना पैरामेडिक कर्मचारी छन्। तीन सैनिक घाइते भएको खबर पनि आएको छ।

लेबनानी सेना र सिभिल डिफेन्सका अनुसार सेना टोली राहतकर्मी र बुलडोजरसहित पहिलो आक्रमणस्थलमा उद्धार अभियान चलाइरहेका बेला दोस्रो आक्रमण भएको थियो, जसमा केही उद्धारकर्मी भग्नावशेषमा पुरिएका छन्।

लेबनानका राष्ट्रपति जोसेफ आउनले उक्त आक्रमणको कडा निन्दा गरेका छन्। उनले यो राहत तथा प्राथमिक उपचारमा खटिएका  स्वास्थ्यकर्मीलाई लक्षित गरिएका घटनाको निरन्तरता भएको बताएका छन्।

उनले इजरायलले नागरिक, पैरामेडिक स्टाफ, सिभिल डिफेन्स तथा रेडक्रसकर्मीको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूको निरन्तर उल्लंघन गरिरहेको आरोप पनि लगाए।

इजरायलको मानवअधिकार संस्था फिजिसियन्स फर हुयुमन राइट्स-इजरायलले गाजाका चिकित्सक हुसाम अबु सफियाको हिरासत अनिश्चितकालका लागि बढाइएको जनाएको छ।

अबु सफिया उत्तरी गाजास्थित कमाल अदवान अस्पतालका निर्देशक हुन् र इजरायली बमबारीबीच उपचार जारी राख्ने स्वास्थ्यकर्मीको प्रमुख अनुहारका रूपमा उदाएका थिए।

इजरायली सेनाले उनीमाथि हमाससँग सहकार्य गरेको आरोप लगाएको छ, तर अस्पताल कर्मचारी र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूले ती आरोप अस्वीकार गरेका छन्।

मानवअधिकार समूहका अनुसार उनलाई नेगेव जेलमा कडा परिस्थितिमा राखिएको छ र औपचारिक आरोप नलगाई हिरासत लम्ब्याइएको हो।

प्यालेस्टिनी मन्त्री वारसेन अघाबेकियनले संयुक्त राष्ट्रसंघमा इजरायलले नागरिकको हत्या तत्काल रोक्नुपर्ने माग गरेका छन्। उनले इजरायलले प्यालेस्टिनी प्राधिकरणलाई कमजोर बनाउन खोजिरहेको र वेस्ट बैंकमा बसोबास गर्ने यहुदी बस्तीका बासिन्दाले दैनिक रूपमा प्यालेस्टिनीहरूलाई त्रसित पारिरहेको आरोप लगाए।

उनले गाजामा आश्रय सामग्री, राहत सहायता र मानवीय सहयोगकर्मीको पहुँच रोक्नुको कुनै औचित्य नभएको पनि बताए।

प्रकाशित: १६ वैशाख २०८३ १६:५९ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast