कांग्रेसले छान्न सकेन संसदीय दलको नेता

हिमाल प्रेस ४ वैशाख २०८३ २१:३५ | Friday, April 17, 2026
20
SHARES
कांग्रेसले छान्न सकेन संसदीय दलको नेता फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसलाई प्रतिनिधिसभा संसदीय दलको नेता चयन थप केही दिन लाग्ने भएको छ। संसदीय दलको विधान परिमार्जन र सहमतिको प्रयास भइरहेकाले दलको नेता चयन गर्न कांग्रेसलाई ढिलाइ भएको हो।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य सबै दलले दलको नेता चयन गरिसके पनि कांग्रेसले हालसम्म प्रक्रियासमेत सुरू गर्न सकेको छैन। दलको नेता चयन गर्न गठन भएको निर्वाचन समितिका पदाधिकारीहरूले वैशाख पहिलो साता संसदीय दलको नेता चयन हुने दाबी गरेका थिए। तर, वैशाख ८ अघिसम्म दलको नेता चयन गर्न सम्भव नरहेको उनीहरूले बताएका छन्।

निर्वाचन समितिका सदस्यसमेत रहेकी केन्द्रीय सदस्य मुना भुसालले वैशाख ८ गतेसम्म कांग्रेसले दलको नेता पाउने दाबी गरेकी छन्। आइतबारबाट प्रक्रिया सुरू भएर ८ गतेसम्म दलको नेता चयन हुने उनले बताइन्।

‘वैशाखको पहिलो साता दलको नेता चयन हुने आशा गरेका थियौँ, तर सम्भव भएन,’ हिमालप्रेससँग उनले भनिन्,‘वैशाख ८ गतेसम्म कांग्रेसले दलको नेता पाउने पक्का छ।’

दलको नेता चयन गर्ने सन्दर्भमा निर्वाचन समितिले शुक्रबार पार्टीका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेको छ। छलफलका क्रममा दलको नेता चयन गर्ने विषयमा कुराकानी भएको छ।

निर्वाचन समिति सदस्य भुसालले दलको नेता चयन गर्ने विषयमा प्रतिनिधिसभा सदस्यहरूको धारणा बुझ्न छलफलको आयोजना गरिएको जानकारी दिइन्।

‘दलको नेता चयन गर्नकै लागि आजको छलफल भएको होइन, सबै माननीयज्यूहरूको धारणा बुझ्न छलफल गरेका हौँ,’ उनले भनिन्,‘दलको नेता चयन गर्न ढिला गर्न हुँदैन भन्ने कुरा आएको छ, अब चाँडै यो काम सकिन्छ।’

भुसालले दलको विधान परिमार्जन गर्नुपर्ने भएकाले पनि नेता चयन गर्न ढिलाइ भएको उल्लेख गरिन्।

‘सकभर सहमतिमै दलको नेता चयन गरौँ भन्ने त छँदैछ,’ उनले भनिन्,‘हाम्रो संसदीय दलको विधान पनि परिमार्जन गर्नुपर्ने भएको छ, माननीयज्यूहरूलाई भोलि विधान संशोधनको मस्यौदा उपलब्ध गराउँछौँ, त्यसपछि उहाँहरूको राय आइसकेपछि अगाडि बढौँ भन्ने छ।’

कांग्रेस संसदीय दलका नेताका लागि अर्जुनरसिंह केसी, भिष्मराज आङ्देम्बे, मोहन आचार्यलगायतका नेताहरू आकांक्षी देखिएका छन्। दलको नेता बनाउने विषयमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच एक्यमत हुन नसकेकाले पनि ढिलाइ भइरहेको कांग्रेस नेताहरूको भनाइ छ।

उपसभापति शर्मा आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने अडानमा छन्। जबकि सभापति थापा यसमा सहमत देखिएका छैनन्। उनी रसुवाका प्रतिनिधिभा सदसीय मोहन आचार्यलाई दलको नेता बनाउन चाहेको बताइएको छ।

सभापति थापा र उपसभापति शर्मा आ–आफ्नो तर्क प्रस्तुत गरिरहँदा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी भने आफू दलको नेता बन्ने अडान प्रस्तुत गरेका छन्। कांग्रेसका अन्य सबैभन्दा अनुभवी र पुराना सांसद आफू भएकाले दलको नेता बन्नुपर्ने अडान केसीको छ। कांग्रेस नेताहरूका अनुसार केसीको पक्षमा सभापति र उपसभापति दुवै देखिएका छैनन्।

दलको नेता कसलाई बनाउने विषयमा सहमति जुट्न नसकेकाले प्रक्रिया लम्बिएको कांग्रेस सांसदहरूको भनाइ छ।

निर्वाचन समिति सदस्य भुसाल पनि आकांक्षीहरू बढी देखिए पनि सहमतिमै दलको नेता चयन गर्ने प्रयास जारी रहेको बताइन्। सहमति हुन नसकेपछि अन्तिम विकल्प निर्वाचन प्रक्रियामा जाने उनको भनाइ छ।

‘सर्वसम्मतिकै लागि प्रयास भइरहेको छ, अहिले पनि हामी त्यसमै लागेका छौँ,’ उनले भनिन्,‘सहमति हुन नसकेपछि अन्तिम विकल्प निर्वाचन प्रक्रिया त छँदैछ।’

प्रतिनिधिसभामा १८ जना प्रत्यक्ष र समानुपातिक २० जना गरी कांग्रेसका ३८ सांसद छन्। जसमध्ये सभापति गगन थापा समूहका १६,देउवा समूहका १५ र शेखर कोइराला समूहका ७ जना सांसद छन्। पछिल्लो समय कांग्रेसभित्र देउवा र शेखर समूह नजिक देखिएका छन्। यो दुवै समूहका सांसदहरू एकढिक्का रहेको अवस्थामा आफूनिकटलाई दलको नेता बनाउन संस्थाप समूहलाई सकस पर्ने देखिएको छ।

२०६४ पछि कांग्रेसको इतिहासमा सर्वसम्मतिबाट दलको नेता चयन भएका छैनन्। २०७९ सालको निर्वाचनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले तत्कालीन महामन्त्री गगन थापालाई संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा पराजित गरेका थिए।

प्रकाशित: ४ वैशाख २०८३ २१:३५ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast