काठमाडौँ- निर्देशक जौन योञ्जनको नेपाली फिल्म ‘क्रलिङ क्रोजस् आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिष्ठित रेमी अवार्डका लागि मनोनित भएको छ। यो अन्तर्राष्ट्रिय फिल्म महोत्सव अप्रिल २४ देखि ३ मे २०२६ सम्म ह्युस्टन मा आयोजना हुँदैछ।
यसअघि पनि उक्त फिल्मले एशिया प्यासिफिक फिल्म फेस्टिभलको ६२औँ संस्करणमा ‘उत्कृष्ट फिल्म’ को उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरिसकेको थियो। यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली फिल्मका रूपमा यसले कीर्तिमान बनाएको हो।
सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वका सबैभन्दा पुराना स्वतन्त्र फिल्म महोत्सवमध्ये एक हो। नयाँ प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
स्टिभन स्पिलबर्ग,जर्ज लुकास, डेभिड लिन्च र आङ लीजस्ता चर्चित निर्देशकहरूले पनि करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए।
‘आँखा’को यो मनोनयनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अवसर दिएको छ। समीक्षकहरूका अनुसार यसले नेपाली फिल्मको प्राविधिक दक्षता र कथावाचन क्षमता विश्वसामु थप सशक्त रूपमा प्रस्तुत गरेको छ।
निर्देशक योञ्जनले यस उपलब्धिप्रति आभार व्यक्त गर्दै नेपाली कथाहरूले विश्वव्यापी दर्शकको मन जित्न सक्ने कुरा पुनः प्रमाणित भएको बताएका छन्।
फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल र बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ।
यस फिल्मले सुकुम्बासी बस्तीमा बस्ने सर्वसाधारण मानिसको जीवन, संघर्ष र यथार्थलाई गहिराइका साथ प्रस्तुत गरेको छ।




