ई-बिडिङ ‘ह्याकिङ’ प्रकरणमा विक्रम पाण्डेसहित ९ जना पक्राउ

हिमाल प्रेस ११ वैशाख २०८३ १९:३६ | Friday, April 24, 2026
34
SHARES
ई-बिडिङ ‘ह्याकिङ’ प्रकरणमा विक्रम पाण्डेसहित ९ जना पक्राउ

काठमाडौँ- राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर आफ्नो कम्पनीलाई ठेक्का पारेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पाण्डेलाई काठमाडौँबाट पक्राउ गरेको हो।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन्। राप्रपा नेता पाण्डेविरूद्ध सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ सालमा मुद्दा दायर गरेको थियो।

उनी २०७९ सालमा सहरी विकासमन्त्री भएका थिए।

त्यस्तै सीआईबीको टोलीले शुक्रबार नै भिषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ। श्रेष्ठलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

पछिल्लो समय सीआईबीले विद्युतीय बोलपत्र प्रणाली ह्याक गरेर ठेक्का हात पार्ने निर्माण कम्पनीविरूद्ध ‘अपरेसन’ चलाएको छ। सीआईबीको टोलीले यसअघि पनि केही निर्माण व्यवसायीहरूलाई पक्राउ गरेको बताइएको छ।

निर्माण कम्पनीहरूले विद्युतीय बोलपत्र प्रणाली ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलासा भएपछि अनुसन्धानका लागि प्रहरी सक्रिय भएको हो।

अनुसन्धानका क्रममा केही निर्माण व्यवसायीहरूले ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै प्रणाली ह्याक गरेर कागजान परिवर्तन गर्ने गरेको खुलेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साइबर ब्यूरोलाई छानबिनका लागि पत्र पठाएको थियो।

त्यसपछि साइबर ब्यूरो र सीआईबीको टोलीले संयुक्त रूपमा यो प्रकरणमा अनुसन्धान थालेको हो। सीआईबी स्रोतका अनुसार ई-गभर्नमेन्ट प्रोक्युपमेन्ट सिस्टम ह्ययाक गरी ठेक्का लिने कार्यमा संलग्न ९ जना निर्माण व्यवसायीहरू पक्राउ परिसकेको सीआईबीले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८३ १९:३६ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast