प्रलोपाका पाँच नेताले दिए सामूहिक राजीनामा

हिमाल प्रेस १३ माघ २०८२ १४:५९ | Tuesday, January 27, 2026
26
SHARES
प्रलोपाका पाँच नेताले दिए सामूहिक राजीनामा

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय तथा प्रदेशस्तरका पाँच जना नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। पार्टीले वैकल्पिक राजनीतिको मूल मर्म, मूल्य र दिशाबाट विचलन गरेको निष्कर्ष निकाल्दै उनीहरूले राजीनामा दिएका हुन्।

राजीनामा दिने नेताहरूले नयाँ शक्ति पार्टी नेपाल स्थापनाकालदेखि नै आफूहरू विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा निरन्तर संलग्न रहेको उल्लेख गरेका छन्।

पार्टीले समयक्रममा नाम परिवर्तन तथा वैचारिक-सांगठनिक रूपान्तरण गर्दै हाल प्रगतिशील लोकतान्त्रिक पार्टीको रूपमा आफूलाई स्थापित गरेको सन्दर्भमा पनि आफूहरूले निरन्तर योगदान दिँदै आएको उनीहरूको भनाइ छ।

तर पछिल्लो समय पार्टीभित्र वैकल्पिक राजनीतिक शक्तिको स्पष्ट वैचारिक तथा व्यवहारिक आधार नदेखिएको, घोषित वैचारिक दिशा र व्यवहारबीच गहिरो अन्तर देखिएको तथा नेतृत्वका निरन्तर त्रुटिपूर्ण निर्णयहरूलाई मात्र साक्षी भएर बस्नुपरेको अवस्थाले आफ्नो राजनीतिक मूल्य र प्रतिबद्धतासँग मेल नखाने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

राजीनामा दिने नेताहरूले विचारसहितको वास्तविक वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आगामी दिनमा पनि संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

देश, समाज र नागरिकको हितलाई केन्द्रमा राखी न्याय, समानता, सुशासन र उत्तरदायित्वमा आधारित वैकल्पिक राजनीतिक शक्तिको स्थापना नै आफ्नो निरन्तर संघर्षको उद्देश्य रहने उनीहरूको भनाइ छ।

राजीनामा दिनेमा केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज जिन्दक खड्का, लुम्बिनी प्रदेश समिति सदस्यहरू महेन्द्र सुनुवार, रमेश खनाल, पूर्ण प्रसाद श्रेष्ठ र भोजराज पौडेल रहेका छन्।

प्रकाशित: १३ माघ २०८२ १४:५९ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast