पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

हिमाल प्रेस १२ कार्तिक २०८२ ११:२३ | Wednesday, October 29, 2025
पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान फाइल तस्बिर

पर्वत- यस वर्ष पर्वतको फलेवास नगरपालिकामा खेती गरिएका आठ प्रजातिका धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ। अनुसन्धानको मुख्य उद्देश्य कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा बढी उत्पादन हुन्छ भन्ने पत्ता लगाउनु रहेको छ।

राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएका आठ जातका धानमाथि अनुसन्धान गरेको हो। फलेवास नगरपालिका-६ देवीस्थानस्थित शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ।

स्थानीय जातहरूमा पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुख्खा धान समावेश छन्। यसबाहेक, आइआर १६, एल ७०४, आइआर १६ ए ३७०८, आइआर २२८ एल, आइआर १३(२०८४, भिआइएन ३६८ जस्ता नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान भइरहेको छ।

कृषि प्राविधिकमार्फत बीउ परीक्षण गर्ने अर्जुन श्रेष्ठका अनुसार फलेवास नगरपालिकाले धान र अन्य अन्नबालीको बीउ बिक्रीमा सहयोग गर्दै आएको छ। गत वर्ष फलेवास, जैमिनी र बागलुङ नगरपालिका, गण्डकी प्रदेश कृषि विकास मन्त्रालय, कृषि ज्ञान केन्द्र पर्वतमा रु आठ लाख बराबरको बीउ बिक्री भएको थियो।

फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीका अनुसार तापक्रम वृद्धि, जलवायु परिवर्तन, सिँचाइ अभाव र बाँदर आतंकका कारण कृषकहरूको धानतर्फ आकर्षण घट्दै गइरहेको छ। केन्द्रले निश्चित प्रजाति सिफारिस गरेपछि धानखेतीमा आकर्षण बढ्ने विश्वास गरिएको छ।

केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगरपालिका-६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको अनुसन्धान पनि गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८२ ११:२३ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast