काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहमा कार्यरत शिक्षा सेवाका अधिकृतस्तरका कर्मचारीलाई शैक्षिक व्यवस्थापनसम्बन्धी ३० कार्यदिने सेवाकालीन तालिममा सहभागी हुन आवेदन गर्न आग्रह गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रानुसार आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत दोस्रो त्रैमासिकमा २५ र तेस्रो त्रैमासिकमा २५ गरी कुल ५० जना सहभागी हुने गरी तालिम सञ्चालन हुने भएको हो।
मन्त्रालयले छैठौं, सातौं र आठौं तहका अधिकृतस्तरका कर्मचारीलाई लक्षित तालिमका लागि मिति २०८२ भदौ १० भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ। इच्छुकले मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखामा प्रत्यक्ष वा ईमेल (mockapra@gmail.com) मार्फत आवेदन पठाउन सक्नेछन्।
आवेदनसँग अद्यावधिक कर्मचारी व्यक्तिगत विवरण, सम्पर्क नम्बर र ईमेल ठेगाना साथै कार्यरत स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
शाखा अधिकृत पुष्पा घिमिरेको हस्ताक्षरमा जारी सूचनामा निर्धारित मिति भित्र आवश्यक कागजातसहित आवेदन दिन सबै इच्छुक कर्मचारीलाई आग्रह गरिएको छ।



