शिक्षा ऐनका लागि कांग्रेसका घर-कार्यालयमा शिक्षकहरू

हिमाल प्रेस २ वैशाख २०८२ १०:१६
2.3k
SHARES
शिक्षा ऐनका लागि कांग्रेसका घर-कार्यालयमा शिक्षकहरू

काठमाडौँ- शिक्षा ऐन अविलम्ब जारी गर्न आग्रह गर्दै आन्दोलनरत शिक्षकहरूका प्रतिनिधि सत्तारुढ नेपाली कांग्रेसको कार्यालय र सभापति शेरबहादुर देउवाको घरमा पुगेका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सोमबार साँझ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा शिक्षकहरूले छलफल गरे। महामन्त्रीद्वयले नेपाल शिक्षक संघका पदाधिकारी तथा अगुवाहरूसँग हालको आन्दोलन र शिक्षकको मागबारे छलफल गरे।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार छलफलमा शिक्षकहरूको आन्दोलन, माग तथा समाधानका सम्भाव्य पहलबारे विचार–विमर्श भएको थियो। शिक्षकको माग सम्बोधनका लागि पार्टीको तर्फबाट पहल गर्ने जनाइएको छ।

महामन्त्रीद्वयलगायतले शिक्षकको जायज मागको सम्बोधनका लागि सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएका छन्।

त्यस्तै, गत चैत २८ गते सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूले भेटेर शिक्षा ऐन जारी गर्न माग गरेका थिए।

सभापति देउवा र शिक्षकहरूबीचको छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले जानकारी दिएका थिए। उनले भनेका थिए,‘सभापति देउवा र शिक्षकहरूबीचको छलफल उत्साहजनक भएको छ।’

कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको थियाे। कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले गत सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन र त्यसबाट प्रभावित बनेको विद्यालयको पठनपाठनप्रति चिन्ता व्यक्त गर्दै सरकारले संवाद सुरु गर्नुपर्ने बताएका थिए।

उनले शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग पनि गरेका थिए।

गत चैत २० गतेदेखि शिक्षक कर्मचारीहरू काठमाडौँमा आन्दोलनरत छन्। विगतमा सरकारसँग भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघ नेतृत्वमा शिक्षकहरू निर्णायक दबाबका लागि आन्दोलनमा उत्रिएका हुन्।

शिक्षा विधेयक अघि बढ्यो, शिक्षक कर्मचारीहरूलाई घर फर्काउँछौं : विश्वप्रकाश शर्मा

शिक्षक नेताहरूसँग गगन थापाले भने : संसद्को हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित हुन्छ

प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ : गगन थापा

शिक्षा विधेयकमा अभिभावकको सहभागिता बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी छ : गगन थापा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast