रुस-युक्रेनबीच हवाई आक्रमण तीव्र

हिमाल प्रेस १० असोज २०८३ २०:५७ | Saturday, September 26, 2026
रुस-युक्रेनबीच हवाई आक्रमण तीव्र

काठमाडौँ- रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा शनिबार दुवै देशमा भएका आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ।

युक्रेनमा रुसी आक्रमणबाट चार जनाको ज्यान गएको छ भने रुसमा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्।

रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको करिब साढे चार वर्ष बितिसक्दा पनि युद्ध जारी छ। अग्रमोर्चामा प्रगति सुस्त रहे पनि रुसले क्रुज तथा ब्यालिस्टिक मिसाइल, ग्लाइड बम र जेट–सञ्चालित ड्रोन प्रयोग गरी युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हरेक दिन आफ्नो आक्रमणको दायरा र तीव्रता बढाइरहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई थप कडा प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।

‘यदि रुसले आफ्ना आक्रमणलाई अझ क्रूर बनाउने बाटो रोजेको छ भने युद्धलाई थप फैलिनबाट रोक्न विश्वले अझ दृढ कदम चाल्नुपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत बताए।

जेलेन्स्कीले किएभ, जापोरिजिया, ओडेसा, सुमी र खार्किभ क्षेत्रमा आवासीय भवनहरू लक्षित गरी आक्रमण गरिएको उल्लेख गरे।

जापोरिजियाको क्षेत्रीय सैन्य प्रशासनका अनुसार ध्वस्त भएको घरको भग्नावशेषमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ। यस्तै, सुमी सहरमा भएको अर्को रुसी आक्रमणमा दुई जनाको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन्।

युक्रेनी ड्रोनद्वारा रुसी रिफाइनरीमा आक्रमण

यसैबीच, युक्रेनले लामो दूरीका ड्रोनमार्फत रुसका तेल प्रशोधन केन्द्र (रिफाइनरी) तथा अन्य औद्योगिक प्रतिष्ठानहरूलाई निशाना बनाएको छ।

स्थानीय अधिकारीका अनुसार दक्षिणी क्रास्नोदार क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले टेलिग्राममार्फत दुई औद्योगिकस्थलमा आगलागी भएको जानकारी दिएका छन्। रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणको मुख्य लक्ष्य स्थानीय तेल प्रशोधन केन्द्र थियो।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा जेलेन्स्कीले विभिन्न देशहरूलाई रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाई युद्ध सञ्चालनका लागि आवश्यक राजस्वमा रोक लगाउन आग्रह गरेका थिए। तर लामो समयदेखि जारी कूटनीतिक प्रयासका बाबजुद युद्ध अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन।

किएभमा ड्रोन आक्रमण, आगलागी र क्षति

शनिबार बिहान किएभ क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणका कारण बोरिस्पिल जिल्लाको एउटा गोदाममा आगलागी भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।

अधिकारीका अनुसार रुसी ड्रोनले राजधानी किएभका विभिन्न क्षेत्रमा पनि प्रहार गर्दा थप चार जना घाइते भएका छन् भने आवासीय र कार्यालय भवनहरूमा क्षति पुगेको छ।

रुसको रक्षा मन्त्रालयले किएभमा गरिएको आक्रमणबाट मोबाइल इन्टरनेट सेवा तथा स्टारलिंक स्याटेलाइट सञ्चार प्रणालीलाई सहयोग पु¥याउने एक डाटा सेन्टरमा क्षति पुगेको दाबी गरेको छ।

प्रकाशित: १० असोज २०८३ २०:५७ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast